लोडसेडिङ अन्त्यको कथा ‘उज्यालाे नेपाल’ (भिडियाेसहित)

बैशाख ७ । लोडसेडिङमुक्त देश बनाउने अभियानका साथ निर्माण भएको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ ।

नेपालमा लोडसेडिङका लामो मार खेप्नु परेको जनता तिनले पाएका दुःख पीडा र लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर निर्माण भएको यस फिलिममा उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको छ।

कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय भएको बताइएको छ ।

अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् ।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस फिलिममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त फिलिम हाल नेपाल टेलिभिजनमा प्रसारण भइसकेको छ ।

कमेन्ट गर्नुहोस्