निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुहोस् : प्रधानमन्त्री

झापा, वैशाख ७ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

माओवादी केन्द्र झापाले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक रुपमा हुन लागेको स्थानीय निकायको चुनाव कुनै पनि बाहानामा नसर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगलाई सोध्दा एकै चरणमा निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिएको बताउँदै तराई पहाड हिमालमा निर्वाचनको व्यापक लहर देखिएको र निर्वाचन कुनै हालतमा कसैले रोक्न चाहेर नरोकिने स्पष्ट पारेका छन् ।

स्थानीय तहको निर्वाचन भनेको स्थानीय सरकारको निर्वाचन, सिंहदरबारको निर्वाचन भएकाले मुलुकमै पहिलो पटक हुन लागेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले यो निर्वाचनले पहिलोपटक सिंहदरबारको अधिकार जनताको हातमा आउँने भएकाले ऐतिहासिक भएको बताएका छन् ।

उनले ढुक्क भएर कार्यकर्तालाई र जनतालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले कहीं कतैबाट निर्वाचन विथोल्ने षडयन्त्र भए त्यो षडयन्त्रविरुद्ध देश नै उठ्नुपर्ने बताए । षडयन्त्रकारीलाई सदाको लागि परास्त गर्ने शक्ति जनतामा मात्र भएकाले जनतालाई सचेत हुन आग्रहसमेत गरे ।

सम्बोधनको क्र्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति प्रकृयापछि विर्तामोड आउँदा यहाँको जनसभा र उत्साह देखेर माओवादी विजयी घोषणा गरेको स्मरण गर्दै अबको निर्वाचनमा पनि जनताले काम गर्नेलाई जिताउनुपर्ने बताए ।

जुन जोगी आएपनि कानै चिरेको जस्तो जनतालाई भान भइरहेको अवस्थामा माओवादी तेस्रो शक्ति भएपनि मुलुकलाई समृद्ध बनाउने, लोडसेडिङ अन्त्य गर्ने, पहिलाे पटक २४ वर्षपछि आर्थिक बृद्धिदर ६ दशमलब भन्दा माथि पुर्याउने, मुल्यबृद्धि घटाउने, मित्र राष्ट्र चीन र भारतबीच सन्तुलन सम्बन्ध बनाउने, फास्ट ट्र्याक नेपालले नै गर्ने जस्ता काम यही माओवादी सरकारले गरेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले दृढ इच्छा शक्ति र इमान्दार प्रयास गरे हुने रहेछ भन्ने कुरा पछिल्ला ९ महिनमा प्रमाणित भएको र यो माओवादी सरकारले गर्न सफल भएको बताए ।

उनले ‘माओवादी केन्द्रको उपहार गाँउ गाउँमा सिंहदरबार’ यही नारा लिएर जनतामाझ जाने अवश्य पनि काम गर्नेलाई नै जनताले विजयी बनाउने विश्वास व्यक्त गरे । माओवादी सरकारले नै अबकोे १० वर्षमा मुलुलमा कायापलट गर्न सक्ने विश्वास दिलाउन दिलाउँदै देशलाई समृद्धि गर्ने जिम्मेवारी माओवादीर्ला नै भएको स्पस्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्वाचनमा सहभागी गराउने आफूले हरेक प्रयास गरेको बताउँदै मोर्चाकै सहमतिमा दोस्रो संसोधन विद्येयक ल्याएको दावी गरे । मोर्चाले दोस्रो संसोधन विधेयक दर्ता भएकै भोलिपल्ट अश्वीकार गर्दै आन्दोलनको घोषणा गर्दा आफू आश्चार्यमा परेको बताउँदै यो निर्वाचनको महत्वलाई बुझेर निर्वाचनमा नआए मोर्चाको ऐतिहासिक गल्ती हुने बताए ।

उनले मोर्चालाई सहमतिमा ल्याउन भोलि फेरी पनि बैठक डाकेको र मोर्चाले पनि आउने सहमति गरेको उल्लेख गरे । बैठकमा आफूले मोर्चालाई यति निर्वाचनमा सहभागी हुन आग्रह गर्ने र यो सरकार जति मधेसप्रेमी सरकार अर्को नहुने बताए ।

प्रधानमन्त्रीले निर्वाचनमा महिला र दलितहरुलाई पनि सहभागी गराइने र पहिलो प्राथमिकता दिने पनि बताए ।

नेकपा माओवादी केन्द्र झापाको आयोजनामा बिर्तामोडमा आयोजित विशाल जनसभामा दशौ हजारको उपस्थिति रहेको थियो ।

तस्बिरः सुरेन्द्र भण्डारी

कमेन्ट गर्नुहोस्