सहमतिमा आउहोस् चुनाव दुई चरणमा गर्न पनि सकिन्छ : उपप्रधानमन्त्री थापा

हेटौँडा, वैशाख ७ । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दललाई निर्वाचनमा आउन आग्रह गरेका छन् ।

राप्रपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन बहिष्कारको कार्यक्रम छाडी वार्तामा आउन आह्वान गरेका छन् ।

थापाले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा सहभागी गराउन आवश्यक परे दुई चरणमा निर्वाचन गराउन सरकार, सत्तारुढ दल तथा प्रतिपक्षी दल सहमत छन् । बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस, एमाले, माओवादी र राप्रपा भएर होइन स्वाभिमानी एवम् राष्ट्रवादी भएर जनताले भोट दिनुपर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले अब बन्ने स्थानीय सरकारबाट जनताले आफैँले आफ्नो गाउँ ठाउँको विकास गर्ने अवसर पाउने भएकाले स्थानीय तहको निर्वाचनमा अधिकतम सङ्ख्यामा भाग लिएर देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । उनले राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको हेटौंँडा–काठमाडौ, सुरुङमार्ग र द्रुतमार्ग निर्माण राप्रपाको प्राथमिकतामा रहेको जानकारी दिए ।

त्यस्तै पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले तीन ठूला दल देशलाई ठीक ढङ्गबाट सञ्चालन गर्न र देश विकास गर्न असक्षम भइसकेको विचार व्यक्त गरे । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले स्थानीय निर्वाचनमा जनता र देशले जित्नुपर्ने बताए । सभामा राप्रपाका केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, कोमल वली र रेखा थापाले राप्रपा जनताको विश्वासिलो दल भएको जिकिर गरे । सभामा राप्रपाले हेटौंँडा उपमहानगरपालिका प्रमुखमा केन्द्रीय पार्षद मधु अधिकारीलाई उम्मेदवार बनाइने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्