बरुण नदिमा आएको पहिरोले अरुण नदी थुनियो, सिंगो बस्ती जोखिममा

क्षति हुन नदिने व्यबस्था मिलाउन गृहमन्त्री निधिद्धारा निर्देशन

संखुवासभा, बैशाख ८  । संखुवासभाको बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको छ । हिजो दिउँसो ४ बजेतिर आएको पहिरोले नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।  बरुण नदी अरुण नदीमा आएर मिसिन्छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि लगायत छन् ।

पहिरोका कारण चीनसंगको नाका किमाथांका जाने बाटो समेत बन्द भएकोछ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली आज बिहान पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्