बैद्य–बिप्लव, बाबुराम र प्रचण्ड मिल्नुको विकल्प छैन

राजनीतिक उपलब्धी जोगाउँदै थप उपलब्धी प्राप्तिका लागि सम्पूर्ण माओवादी शक्ति एकत्रित हुनु आजको पहिलो अनिवार्य शर्त हो |

नेपालमा यति बेला ठुलो राजनीतिक घम्साघम्सी चलिरहेको छ | प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्दै आर्थिक समुन्नतिको दिशातिर अघी बढ्नु आजको सामाजिक आवश्यकता हो | यो  दिशामा अघि बढ्न हिजो देखिका राजनीतिक सहयात्री दलहरु कम्तिमा नयाँ बनेको संबिधान कार्यान्वयन नहुन्जेल एक ठाउँमा रहनु पर्दथ्यो | तर सत्ताको राजनीतिक दाउपेचका बिच यो सम्भव भएन | अन्ततः राजनीतिक उपलब्धी नै गुम्न सक्ने र प्रतिक्रान्ती उठ्न सक्ने आंकलन समेत  गर्न थालिएको छ | पन्च, राजावादी अनि कांग्रेस समेतले नयाँ राजनीतिक धार अनुरुप अघि बढ्ने  हिम्मत गरिरहँदा आफुलाई  कम्युनिस्ट भनाउने एमाले नेतृत्वबाटै प्रतिक्रान्तीको नेतृत्व गर्न उद्दत देखिनु वास्तवमा नेपाली राजनीतिक ईतिहासकै ठुलो बिडम्बना हो | यस्तो सम्वेदनशील घडीमा यो राजनीतिक परिवर्तनको पहलकर्ता माओवादी शक्तिको भूमिका कस्तो हुनु पर्दछ भन्ने सम्बन्धी सानो टिप्पणी पस्कन चाहन्छु |

बलिदानी पूर्ण शसस्त्र राजनीतिक आन्दोलनलाई सफल नेतृत्व गरेको माओवादी शक्ति शान्ती कालमा छिन्न भिन्न भएर नाङ्ले पसलहरु खोल्न थाले पछी नै  राजनीतिक बेइमानहरुले खेल्ने ठाउँ पाएका हुन, मुन्टो उठाउन हिम्मत गरेका हुन | तसर्थ राजनीतिक उपलब्धी जोगाउँदै थप उपलब्धी प्राप्तिका लागि सम्पूर्ण माओवादी शक्ति एकत्रित हुनु आजको पहिलो अनिवार्य शर्त हो | एकता नै  बल हो भन्ने ध्रुव सत्यलाई चुनौती दिँदै टुटेर फुटेर बलियो हुन्छु भन्ने भ्रम सायद आजका दिन सम्म सबैमा हटिसकेको हुनु पर्दछ | घर भित्र जतिसुकै झगडा परे पनि बाहिरिया सँग जुध्न एक रहुन्जेल बाहिरियाले पनि आँट्न सक्दैन | भनिन्छ नि भाई फुटे गवार लुटे | त्यसैले सबैले आ–आफ्ना नाङ्ले पसल छोडेर बृहद सुपरमार्केट बनाउन नलाग्ने हो भने साना  तिना हावाका झोकाले पनि नाङ्ले पसल उडाउने निस्चित छ | कसैको अलि ठुलो नाङ्लो होला कसैको अली सानो | हुन त आखिर नाङ्लो नै हो |

त्यसैले प्रचण्ड, बैद्य, बाबुराम, बादल, बिप्लब सबै एकै ठाउमा नआउने हो भने सिमित नै भए पनि सब राजनीतिक उपलब्धी बिघटनको दिशामा जाने निस्चित प्राय भैसकेको  छ | यस्तो बेला राजनीतिक उपलब्धीको बलीले मात्र कोटा पुग्ने छैन | प्रचण्ड देखी लिएर एउटा सामान्य समर्थक सम्मले आफ्नो रगत दिनु पर्ने हुन सक्छ | प्रतिगामीहरु क्रमशः एउटा ग्रान्ड डिजाइन तर्फ बिस्तारै अघी बड्दै छन | उनिहरु भित्र झगडा गरे जस्तो गरे पनि बाहिर लड्न एक हुने गरेका छन् | पैसा र पदको आडमा आ आफ्ना मान्छेलाई सबै तिर सेट पनि गरिरहेका छन | तर माओवादीहरू भने टुट्दै फुट्दै खीइने अनी सकिने दिशा उन्मुख देखिन्छन | त्यसैले प्रचण्ड एक्लैले वा बाबुरामले वा बैद्य बिप्लवले आफ्नो आफ्नो सुर गरेर केही हुन सक्दैन | यथार्थ के हो भने आज सबैले आ आफ्नो  सुर गर्न त सक्लान तर भोली सबैले प्रतिगामीको सुर सहनु पर्ने हुन्छ | यि कुरा न हतास मानसिकताको उपज हुन न फिल्मी कल्पना | आज होस् नपुर्याउने हो भने भोलीको हुने निश्चित छ|

उदाहरणका लागि धेरै टाढा जानु वा इतिहासका गड्डी पल्टाइ राख्नु पर्दैन | अलि परतिर अस्ती भर्खरको श्रीलंका हेरे पुग्छ | त्यहाँको त्यती ठुलो पुरानो प्रिथकतावादी बिद्रोही संगठन तमिल टाइगर (लिट्टे ) लाई शान्ती प्रकृयामा ल्याइ अन्ततः बिउ पनि नरहने गरी कसरी कत्लेआम गरियो ? नेपालका माओवादी र लिट्टे लाई तुलना गर्न त मिल्दैन तर जनसेना बिघटन गरिएको र भएका युवा लडाकु कार्यकर्ता पनि फर्मेसनमा नरहेको, टुक्रा टुक्रामा बिभाजन भएको माओवादीलाई पनि यस्तै नहोला भन्न सकिन्न | आजको राजनीतिक खिचातानी  यसकै एउटा कडि नबन्ला भन्न सकिन्न | प्रतिगामीहरुले पक्कै पनि यस्तो गर्न सकिन्छ भन्ने बिर्सेंका छैनन | पहिले भद्रगोलका बिच गोल माओवादीले हान्थ्यो तर माओवादी आँफैमा भद्रगोलमा रहेको हुँदा गोल कसले हान्छ भनिराख्न पर्दैन |

ढिलो हुनु पहिले नै बिभक्त भएका सबै जनयुद्दकारी शक्ति एउटै छाना मुनी आउनु र तल्लो लेबल सम्म संगठन सुढृढ गर्न यथासम्भव छिटो लाग्नु मै देश र जनताको भलाई छ | देश र जनताको भलाई  हुनु भनेकै जनयुद्दको  उद्देश्य प्राप्त हुनु हो | तर अझै पनि आ–आफ्ना जुँगाको लडाईं मै आनन्दित भैराख्ने हो भने हज्जारौंको बलिदानी अनि लाखौंको त्याग धुलिसात हुनेछ |

कमेन्ट गर्नुहोस्

%d bloggers like this: