चुनाव सार्न भारतको दबाब, जसरी पनि वैशाख ३१ मैं हुन्छ– प्रधानमन्त्री

काठमाडौं, वैशाख ९ । सरकारले वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचन सार्न भारतले दबाब दिएको खुलासा भएको छ ।
शुक्रबार मधेसी मोर्चा र सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भएको सहमतिको हवाला दिँदै निर्वाचनको मिति सार्न प्रधानमन्त्रीले निर्वाचन आयुक्तसँग छलफल गरेको चर्चा सार्वजनिक भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रधानमन्त्रीले जसरी भएपनि वैशाख ३१ मा नै निर्वाचन गर्ने अडान लिएका छन् ।
“निर्वाचन सर्ने हल्ला फिँजाइएको हो ।” सचिवालय श्रोतले भन्यो, “जसरी पनि वैशाख ३१ मा नै चुनाव हुन्छ ।”
मधेसी मोर्चाभित्र भने चुनावको मितिबारे दुईवटा धार रहेको राष्ट्रिय जनता पार्टीका एक केन्द्रीय नेताले एभरेष्टदैनिकडटकमलाई बताए । “हाम्रो तयारी पुग्दैन भन्ने मधेसवादी दलहरुको बुझाई छ” श्रोतले भन्यो, “त्यही भएर मिति सार्ने कुरामा मधेसवादी दलहरुबीच छलफल जारी रहेको छ ।”
स्थानीय निकायको निर्वाचन सार्न एमालेले समेत दबाब दिएको कुरा यसअघि नेकपा माओवादी केन्द्रका नेता अनन्तले केही दिन अघि बताएका थिए । त्यसो त मधेसी मोर्चामा रहेका उपेन्द्र यादव समूहले भने स्थानीय निकायको निर्वाचन नै नगर्ने बरु सोझै केन्द्रीय संसदको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । उपेन्द्र यादवसँगै राजनीतिक एजेण्डामा सहकार्य गरिरहेको नयाँ शक्तिले समेत स्थानीय निर्वाचन अहिले गर्न नहुने धारणा व्यक्त गर्दै आएको थियो । यद्यपी पार्टीको यसै साता सम्पन्न केन्द्रीय बैठकले सम्पूर्ण शक्ति निर्वाचनमा खर्च गर्ने कार्यनीति पारित गरेको छ ।
विश्वस्त सूत्रका अनुसार, भारतभित्रका केही शक्ति केन्द्रहरुले चुनावको मिति सार्ने प्रस्ताव अघि सारेका छन् । उनीहरुले दुई चरणको चुनाव नगरी दुई तीन महिना सारेर असोज या कार्तिकमा एकैपटक निर्वाचन सार्न दबाब दिएका हुन । खासगरी मधेस केन्द्रीत दलहरुभित्र यो दबाब चर्को रहेको श्रोतले बतायो । “अहिले निर्वाचन सार्ने, पछि स्थानीय होइन, एकैपटक केन्द्रीय संसदको चुनाव गरौं भन्ने उनीहरुले भनिरहेका छन् । यही किसिमको अडान राख्न दबाब समेत दिएका छन्” श्रोतले भन्यो, “मोर्चा घटक दलहरुभित्र समेत यसबारेमा दुई मत देखिएको छ ।” अहिले बाहिर आएका हल्ला र चर्चा पनि यही शक्ति केन्द्रले फिँजाउन लगाएको श्रोतको दावी छ ।
प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले भने जसरी भएपनि वैशाख ३१ मा घोषणा गरिएको मिति सार्न नहुने अडान राखेका छन् । बुढानिलकण्ठ श्रोतका अनुसार, मधेसी मोर्चा सहमतिमा आएको खण्डमा उनीहरुको बाहुल्यता रहेको केही क्षेत्रमा केही दिनका लागि चुनाव सार्न सकिनेसम्म लचक हुन सकिने प्रचण्ड र देउबाको सहमति बनेको छ । “तर वैशाख ३१ को मिति भने कुनै पनि हालतमा सर्दैन ।” श्रोतले भन्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: