सहमति कोशे ढुङ्गा, राजनीतिमा नयाँ मोड थपियो– कमल थापा

मोरङ, वैशाख १० । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँग भएको समझदारी राजनीतिक गतिरोध अन्त्यका लागि कोशेढुंगा साबित हुने बताएका छन् ।

शनिबारको सहमतिपछि राजनीतिमा नयाँ मोड आएको बताउँदै थापाले यसबाट मुलुकमा शान्ति, लोकतन्त्र र मुलुकको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

राप्रपा मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले मोर्चासँग भएको समझदारी इमान्दारी पूर्वक कार्यान्वयन भए मुलुकमा रहेको लामो समयदेखिको गतिरोध अन्त्य हुने दाबी गरे ।

संबिधान निर्माणको क्रममा असन्तुष्ट भएर आन्दोलनमा गएको मधेस केन्द्रित दलहरु संविधानतः राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गर्ने र उनको भनाइ थियो । मोर्चासँग भएको सहमतिमा एमालेलाई समेत सहमतिमा ल्याउने उनले बताए । एमाले पनि अब पुरानै अडानमा कायम रहन सम्भव नभएको उनको आशय थियो ।

“मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन र संविधान कार्यान्वयन गरी मुलुकमा शान्ति, स्थायित्व र समृद्ध मुलुक निमार्णमा एमाले बाधक नबन्ने विश्वास छ” उनले भने ।

थापाले निर्वाचनको विरोध गरिरहेका नयाँ शक्तिलगायतका पार्टीले समेत पछिल्लो परिस्थितिलाई सकारात्मकरुपमा लिएर चुनावमा होमिनुपर्ने बताए ।

यद्यपी थापाले चुनाव चिन्हको बारेमा भने निर्वाचन आयोगले व्यवहारिकरुपमा चुनाव चिन्ह प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।

जिल्लामा दर्ता रहेको दलहरुलाई व्यवहारिकरुपमा चुनाव चिन्ह प्रदान गर्न उनको आग्रह थियो । उनले विगतमा पनि कानूनीरुपमा राष्ट्रिय दलहरुले मात्रै चुनाव चिन्ह प्राप्त गरेको अवस्थामा निर्वाचन आयोगले अन्य दलहरुलाई व्यवहारिकरुपमा चुनाव चिन्ह प्रदान गरेको सुनाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: