देशमा राजनीतिले नयाँ मोड लियोः ऊर्जामन्त्री

रुकुम, वैशाख १० । ऊर्जामन्त्री जनार्दन शर्माले मधेसी मोर्चासँग भएको समझदारीसँगै देशमा राजनीतिक गतिले नयाँ मोड लिएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रका उम्मेद्वारको घोषणा कार्यक्रमलाई चौरजहारीमा सम्बोधन गर्दै नेता शर्माले मोर्चासँग भएको समझदारी इमान्दारीपूर्वक कार्यान्वयन हुने दाबी गरेका छन् । आगामी स्थानीय निर्वाचनका लागि सरकार लागि परेको बेलामा सबै राजनीतिक दलहरुले त्यसमा साथ दिनुपर्ने उनले बताए ।

अब मुलुकमा शान्ति, स्थायित्व र विकास निर्माणमा महत्वपूर्ण योगदान गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । सबै मिलेर देश विकासमा लागे मुलुकले नयाँ मोड लिने उनले बताए । एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयन गर्न सके मुलुक सफल हुने उनले विश्वास व्यक्त गरे ।

मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन र संविधान कार्यान्वयन गरी मुलुकमा शान्ति, स्थायित्व र समृद्ध मुलुक निर्माणमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्