ढुंगेल पक्राउ गर्नेबारे प्रहरीले गरायो सर्वोच्चलाई जानकारी

काठमाडौं, वैशाख १० । ज्यान मुद्दाका फरार अभियुक्त बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने प्रक्रियामा रहेको नेपाल प्रहरीले सर्वोच्च अदालतलाई जानकारी गराएको छ ।

सर्वोच्च अदालतले फरार अभियुक्त ढुंगेललाई ७ दिनभित्र पक्राउ गरि प्रतिवेदन पेश गर्न आदेश दिएपछि प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रक्रियामा रहेको भन्ने लिखित जवाफ सर्वाेच्चमा पेश गरेका छन् ।

गत चैत ३१ गते सर्वोच्चले माओवादी केन्द्रका नेता ढुंगेललाई ७ दिन भित्र पक्राउ गरि सम्बन्धित कारागारमा जिम्मा लगाएर प्रतिवेदन पेश गर्नु भनेर प्रहरी महानिरिक्षक अर्यालका नाममा आदेश जारी गरेको थियो ।

गत वैशाख ३ गते सर्वोच्चबाट पक्राउ गर्न पत्र प्राप्त भएकाले अदालतको म्यादलाई ध्यानमा राखेर सम्बन्धित प्रहरी कार्यालयमा पक्राउ टोली परिचालन भइरहेकाले फरार प्रतिवादी पक्राउ हुनसाथ प्रतिवेदन सर्वोच्चमा पेश गर्न प्रतिबद्ध रहेको प्रहरी महानिरिक्षक अर्यालद्वारा लिखित पत्रमा उल्लेख छ ।

अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ढुंगेललले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्