ब्रेकिङ समाचारः डिआईजी नवराज सिलवाल पक्राऊ

११ बैशाख, काठमाडौं । नेपाल प्रहरीले आइजिपीका दावेदार रहेका डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले पक्राउ गरेको हो।

सिलवाल यसअघि आईजीपीका मुख्य दावेदारका रुपमा चर्चित थिए । सर्वोच्च अदालतमा परेको मुद्दाका क्रममा प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी कागजात तयारी गर्दा सिलवालले सरकारी कागजातको किर्ते गरेको भन्दै मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको आरोप छ ।

प्रहरी प्रधान कार्यालयले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ । सिलवालले किर्ते गरेर कार्य सम्पादनको रिपोर्ट प्रभावित गरेको भन्दै उनीमाथि छानवीन गर्न समिति बनेको छ ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि समेत प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: