ब्याडमिन्टनको फाइनल खेल हुँदै

कैलाली, वैशाख ११ । धनगढीको क्षेत्रीय रंगशालामा जारी अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

आइतबार क्वार्टर फाइनल र सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताका रेफ्री उदय अर्यालका अनुसार आइतबार भएको पुरुष सिंगलतर्फ सेमिफाइनल खेलमा देवराज राना (कैलाली) ले अमृत चौधरी (कैलाली) लाई २१–८, २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

गोकुल जोरा (कैलाली) ले प्रियन्सु क्षेत्री (कञ्चनपुर) लाई २१–१६, २१–१७ ले पराजित गरेर फाईनल पुगेका छन् । पुरुष एकलतर्फ सेमिफाइनलमा प्रार्थना देउवा (कैलाली) ले सिमा चौधरी (कैलाली) लाई २१–४, २१–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन् ।

अम्बिका मल्ल (कैलाली) ले एलिना तिरुवा (कैलाली) लाई २१–१५, २१–१३ ले पराजित गरी फाइनल खेलको यात्रा तय गरेकी छिन् । पुरुष डबल्स् तर्फ भएको सेमिफाइनल खेलमा सुनिल श्रेष्ठ र दिलिप देउवा (कैलाली) को जोडीले पदमराज भट्ट र मंगलबहादुर जिएम (कैलाली) को जोडीलाई २१–१७, २१–१२ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
त्यसैगरी राजेन्द्र बम र प्रकाश चन्द (कैलाली) को जोडीले छेदु प्रसाद चौधरी र लक्ष्मी प्रसाद चौधरी (कैलाली) को जोडीलाई २१–११, २१–१५ ले पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।

तीनै चरणका फाइनल खेल सोमबार क्षेत्रीय रंगशाला धनगढीमा हुनेछन । अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले फाइनल खेलका विजेताहरुले पाँचै क्षेत्रबाट छानिएर आएका खेलाडीसँग काठमाडौंमा प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा सुदूरपश्चिमभरिका ६८ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष डबल्समा २२ जोडी, पुरुष सिंगलमा १६ जना र महिला सिंगलमा ८ जनाले सहभागिता जनाएका छन् ।

अन्नपुर्ण मिडिया नेटवर्कले, शनिबारदेखि सुरु गरेको सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको सोमबार फाईनल खेल हुनेछन ।

यस्तै मध्यपश्चिमको नेपालगञ्जमा वैशाख १७ गतेदेखि १९ गते, मध्यपश्चिमाञ्चलको बुटबलमा पनि १७ गतेदेखि १९ गते, पोखरामा बैशाख २१ गतेदेखि २३ गते, र पूर्वाञ्चलको ईटहरीमा बैशाख २ गतेदेखि २८ गतेसम्म क्षेत्रीय प्रतियोगिताको आयोजना हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: