राजनीतिक दलका कारण लोकतन्त्र ओझेलमा : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, वैशाख ११ । पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरुको खिचातानीका कारण जनआन्दोलनबाट प्राप्त भएको लोकतन्त्रलाई अझै संस्थागत गर्न नसकिएको बताएका छन् ।

युवा संसद् नेपालको आयोजनामा ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलहरुको राजनीतिक खिचातानीका कारण अझै ओझेलमा परेको बताए । सबै मिलेर लोकतन्त्रको संस्थागत गर्नु आजको आवश्यकता भएको उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा असन्तुष्टि पक्षलाई समेट्ने प्रयास गरेकोप्रति प्रशंसा गरेका छन् । उनले संविधान घोषणा आफ्नै पालामा भएको भन्दै संविधान जारी गर्दा छुटेका समुदायलाई समेटेर निर्वाचनमा जान राजनीतिक दललाई आग्रह गरे । यादवले तीनै तहको निर्वाचन गरेर देशमा शान्ति, स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे साम्स र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदलगायतले सार्क क्षेत्रको विकासमा युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै युवालाई पनि सार्कले उचित स्थान दिनुपर्ने बताए ।

बुधबारसम्म चल्ने सम्मेलनमा सार्क देशका दिगो विकासका समस्याका बारेमा छलफल गरिनेछ ।

कमेन्ट गर्नुहोस्