‘पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलायौ’

काठमाडौँ, वैशाख ११। नागरिक समाजका अगुवा तथा पत्रकारले मुलुकमा पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलाएकोमा दुःख व्यक्त गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘नेपालमा राजनीतिक भ्रष्टाचारको व्यापकता’ विषयक अन्तक्र्रियामा उनीहरुले पछिल्लोपटक राजनीतिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार मौलाउँदै गएको हुँदा सो क्षेत्र पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे ।

व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढ्दै गएकाले सबैभन्दा पहिला राजनीतिक स्थिरता कायम गर्नुपर्ने आवश्यकता औल्याए ।

पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक दलका नेताले नीति नियम, कानुनमै भ्रष्टाचार गर्न मिल्नेगरी निर्माण गरेको बताए । टिप्पणीकर्ताद्वय वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र वरिष्ठ पत्रकार युवराज घिमिरेले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरेको खण्डमा मात्र देशको विकास हुनसक्ने विचार व्यक्त गरे ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष हरि अर्यालले सबैभन्दा बढी राजनीतिक क्षेत्रमा नै भ्रष्टाचार भएकाले हरेक राजनीतिक दलका नेताले आफ्नो सम्पत्ति र पार्टीमा रहेका खर्च सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए ।
रासस

कमेन्ट गर्नुहोस्