शुल्क वृद्धिविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौँ, वैशाख ११ । निजी विद्यालयले बढाएको शुल्क फिर्ता नगरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय कार्यालयमा आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले जिल्ला शिक्षा कार्यालय घेराउदेखि निजी विद्यालयमा तालाबन्दी गर्नेजस्ता आन्दोलनको कार्यक्रम घोषणालगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

अभिभावकको ढाडसेक्नेगरी वृद्धि गरिएको शुल्क सरकारले फिर्ता गराउन बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताएकी छिन् ।

वृद्धि शुल्क फिर्ता गर्नका लागि सरकारलाई तीन दिने अल्टिमेटन दिइएकोमा पनि सरकारले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताइन् ।

सार्वजनिक कार्यक्रम अनुसार बुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा घेराउ गर्ने, बिहीबार चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासनमा तालबन्दी गर्ने र शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको केन्द्रीय र जिल्ला कार्यालयमा तालाबन्दी गरिनेछ ।

त्यस्तै आन्दोलन अवधिभरी संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट स्कुलको शुल्क अनुगमन गरिनेछ ।

बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउद, अनेरास्ववियु पाँचौँका अध्यक्ष धनश्याम मिश्र, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारी महासचिव दीपेन्द्र चलाउने, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायत सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्