एमालेकै समर्थनमा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पारित हुन्छः नेता रिजाल

काठमाडौँ, वैशाख १२ । नेपाली काँग्रेका नेता मीनेन्द्र रिजालले नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पारित हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “सरकारले हालै अघि सारेको नयाँ संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित हुन्छ ।”

नेता रिजालले ‘एमाले पनि यो प्रस्तावलाई समर्थन गर्छ भन्दै मलाई लाग्छ यो प्रस्ताव एक हप्ताभित्रै सर्वसम्मतीले पारित हुन्छ बताउनुभयो ।’

“चुनावको मिति तय भैसक्यो, अब मिति तलमाथि हुनु हुँदैन् तर बजेटबाट निर्वाचन प्रभावित हुने एमालेको आशङ्कालाई मेटाउन बरु सरकारले असार १५ मा बजेट ल्याए हुन्छ, यसका लागि दलहरुबीच घनिभूत छलफल तथा सहमति हुनु आवश्यक छ” उहाँले भन्नुभयो – “बजेटको मिति सार्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसतर्फ कसरी अघि बढ्न सकिन्छ भनेर दलहरुबीच गृहकार्य भइरहेको छ ।”

अर्को प्रसङ्गमा नेता रिजालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कै गठबन्धन कायम रहने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनका चरणमा रहेकाले सबै राजनीतिक दललाई निर्वाचनको घेराबाट बाहिरिन दिन नहुने बताउँदै चुनावअघि नै संविधान संशोधन प्रस्ताव दुई तिहाइबाट पारित हुने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का नेता वंशीधर मिश्रले नेकपा एमालेको दुई चरणको निर्वाचनमा कुनै मतैक्य नरहेको बताउँदै चुनावअघि बजेट ल्याउन नहुने बताउनुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधान संशोधन प्रस्तावमा भएका नकारात्मक बँुदामा नेकपा मालेको विरोध रहेको र त्यो नसच्याएसम्म मालेले यसको पक्षमा मतदान नगर्ने धारणा व्यक्त गर्नुभयो । रासस

कमेन्ट गर्नुहोस्