समान र समतामूलक शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौँ, वैशाख १२ । सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले मुलुकभरी शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ ।

एनसिइ नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी संविधानको मौलिक हकका रुपमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजित गरी सुशासन कायम हुनुपर्ने भन्ने आवाजसहित देशभर आजबाट एकसातासम्म अभियान मनाइने घोषणा गरेको हो । यो अभियानले यसप्रति सरकार र सम्बद्ध निकायलाई जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा लिएको छ ।

विश्वव्यापी कार्य सप्ताहलाई यस वर्ष दिगो विकासको लक्ष्य नं ४ मा रहेका शिक्षामा जवाफदेही बनाउने र नागरिक सहभागिता भन्ने मूलभाव रहेको छ । सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएकाले त्यसलाई पछ्याउँदै यो सप्ताह मनाइएको हो ।

शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) ले नेपालसहित करिब १०० मुलुकमा एकैसाथ यो सप्ताह मनाउन सुरु गरेको छ ।

अभियानअन्तर्गत नागरिक धर्ना, सार्वजनिक बहस, आमसञ्चार परिचालन, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनेजस्ता कार्यक्रम तय गरिएको एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासङ्घका महासचिव तीलल कुँवर, अभिभावक सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सरिता अर्याल, सामुदायिक विद्यालय राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा लगायतले अभियानमा आफूहरुको सहभागिता रहने जनाउनुभयो । रासस

कमेन्ट गर्नुहोस्