माओवादी केन्द्रबाट शिखर नगरपालिका मेयरमा माधव रोश्यारा

डोटी, वैशाख १२ । डोटी जिल्लाको शिखर नगरपालिकामा माओवादी केन्द्रले युवा नेता माधव रोश्यारालाई नगर प्रमुखको उम्मेदवारका रुपमा अगाडि सारेको छ ।

लामो समयदेखि माओवादीको राजनीति गर्दै आएका रोश्यारा पछिल्लो समयमा भने पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय छन् । रोश्याराको लोकप्रियता देखेर उनलाई मेयरको उम्मेदवार घोषणा गरेको बताइन्छ ।

“आफ्नो क्षेत्रका लागि केही गरौं भन्ने सोच हो” रोश्याराले एभरेष्टदैनिकडटकमसँग भने, “व्यक्तिगत जीन्दगी भन्दा आफू जन्मेको, हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसै पनि सुदूरपश्चिम राज्यबाटै ठगिएको, हामीले नै केही गर्नुपर्छ भन्ने सोचेर उम्मेदवार भइयो ।”

सुदूरपश्चिम राज्यको नजरमा जहिल्यै पनि उपेक्षित भएपनि यहाँको प्रचुर श्रोत र साधनलाई भरपुर उपयोग गरी आर्थिक समृद्धि गर्न सकिने परिकल्पना रोश्याराले गरेका छन । “पर्यटनको विकास अहिलेसम्म हुन सकेको छैन । न त यसको गुरुयोजना नै बनेको छ ।” उनले भने, “नगरको विकासका लागि जिल्लाको र क्षेत्रको पनि विकास हुनुपर्छ । मैले सबैसँग समन्वय गरेर नमूना नगर, जिल्ला र क्षेत्र बनाउने संकल्प बोकेको छु ।”
शिखर नगरपालिकामा कांग्रेसबाट सिताराम जोशी, राम रोकाया र एमालेबाट शेर बहादुर मल्ल सम्भावित उम्मेदवारका रुपमा रहेका छन् ।

“प्रतिष्पर्धि साथीहरुले समेत मलाई सहयोग गर्छन् भन्ने आशा लिएको छु । हामी सबैको उद्देश्य नै हाम्रो नगरपालिका र जिल्लालाई समृद्ध बनाउनु हो ।” रोश्यारा बताउँछन् । नगरपालिकामा विजय भएमा नगरपालिकाको समग्र विकासको गुरु योजना तयार गरी सोही अनुसार नमूना नगर बनाउने उनले बताए । मुख्य कुरा युवाहरुलाई रोजगारी, शिक्षामा सहज पहुँच, अरुसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास, स्वास्थ्यमा पहुँच, बाटोघाटोलगायतका विकास रहेको उनले बताए । नगरपालिकाभित्रको श्रोतहरुको उपयोग र जिल्लासँग समन्वय गरी पाँच वर्षमा शिखर र डोटी जिल्लालाई नै नमूना जिल्ला बनाउने अभियान रहेको उनको दावी छ ।

राजधानीमा पर्यटन व्यवसायमा नाम कमाएका रोश्यारा जनयुद्दकालदेखि नै माओवादीसँग जोडिएका हुन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: