छात्रवृत्तिका लागि ६ लाखको अक्षयकोष

पोखरा, वैशाख १२ । स्थानीय रामबजारको रञ्जित परिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु.छ लाख अक्षयकोष स्थापना गरेको छ ।

रामबजारस्थित कालिका माविमा रु.चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु.दुई लाखको अक्षयकोष स्थापनाका लागि मंगलबार रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जितले आफ्ना पिता स्व हरिगोपाल र आमा गणेशमायाका नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गरेको हो ।

रञ्जित चार दाजुभाइले आफ्ना पिताको ४५ औँ दिनको तिथि पारेर मंगलबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरेको साहिँला छोरा फोटो पत्रकार सुदर्शनले जानकारी दिए ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट कालिका माविमा कक्षा ९ देखि १२ कक्षासम्म र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: