संख्या बढाउन खोजेको भन्दै एमालेले संसद बैठक अवरुद्ध

काठमाडौं वैशाख १२ । स्थानीय तहको चुनावको वैशाख ३१ गते हुने घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खाजेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी विभिन्न जिल्लामा कोटा बाँडेर परिपत्र गरेको एमालेले आरोप लगाएको छ ।

मंगलबार बसेको बैठकको सुरुमा समय लिएर एमाले सांसद गंगालाल तुलाधरले सो विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएपछि एमाले सासंदहरु आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन् ।

उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र गरेको विषय सदनलाई जानकारी गराउन माग गरे ।

सभामुख ओनसरी घर्तीले प्रतिपक्षी दलका सांसदलाई बस्न आग्रह गरेपनि सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म उनीहरुले संसद चल्न नदिने अडान लिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मंगलबार दिनको १ बजेका लागि संसद बैठक डाकिएको थियो ।

कमेन्ट गर्नुहोस्