झण्डा नयाँ शक्तिको, चुनाव चिन्ह फोरमको, चुनाव अघि नै एकता हुने निश्चित

काठमाडौं, वैशाख १२ । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच चुनाव अघि नै एकता हुने भएको छ ।

चुनाव चिन्ह नपाएपछि अप्ठ्यारोमा परेको नयाँ शक्तिले फोरमकै चुनाव चिन्ह प्रयोग गर्ने गरी आयोगलाई जानकारी दिइएपछि भविष्यमा अप्ठ्यारो नहोस् भनेर दुबै दलबीच चुनाव अघि नै एकता हुने भएको हो ।

यसअघि नै एकता हुने भनिएकोमा बाबुरामलाई अध्यक्ष स्वीकार्न उपेन्द्र यादव तयार नभएपछि एकता प्रक्रिया रोकिएको थियो । श्रोतका अनुसार, चुनाव चिन्ह प्रयोग गर्ने शर्तमा बाबुरामले उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेर भएपनि एकता गर्ने भएका हुन ।

एकता गर्दा नयाँ पार्टीको झण्डा भने नयाँ शक्तिकै रहने सामान्य समझदारी दुबै दलबीच भएको छ ।

नयाँ शक्तिका पहाडी जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरिरहेको बेला तराई मधेसको भोट बैंक जोगाउन तत्काल उपेन्द्र यादवको नेतृत्व स्वीकार्न बाबुराम तयार भएको श्रोतले बतायो । यद्यपी महाधिवेशनपछि भने आफू अध्यक्ष हुन सक्ने आँकलन गरेर बाबुरामले उपेन्द्र यादवलाई अहिले नेता मान्न तयार भएको देखिन्छ ।

नयाँ शक्ति नेपाल र फोरमबीच एकता भएमा नयाँ पार्टीले फोरमको हालको चुनाव चिन्ह मसालमा भोटका लागि अपील गर्ने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: