उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी बन्दै

काठमाडौं, बैसाख १३ ।  सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ ।

खानेपानी ट्यांकी राख्न १० लाख खर्च
खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ । उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ । ‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भने ।

याे पनि पढ्नुस  तीनवटा वडाका चार हजार घरपरिवारहरु खोलाको पानी पिउन बाध्य

केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भने ।

यसअघि सयभन्दा बढी स्थानमा ट्यांकी राखिए
केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांक पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ । उपभोक्ता समितिकै तजबिजमा उक्त क्षेत्रमा खानेपानीको उपभोग हुँदै आएको छ ।

याे पनि पढ्नुस  वर्षौंपछि गाउँमा खानेपानी निर्माणपछि बल्ल स्थानीयवासीले खुशीले गदगद्

खानेपानी उत्पादन वृद्धि गर्न मन्त्रीको निर्देशन
खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुक्खायामलाई लक्षित गरेर खानेपानीको उत्पादन बढाउन केयुकेएललाई निर्देशन दिएका छन् । यस्तै, बेल तथा ट्युबबेलको आवधिक मर्मत गर्नसमेत भनिएको छ । खानेपानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भए पनि नागरिकलाई सहुलियत रूपमा खानेपानी उपलब्ध गराउन मन्त्री शाहीको निर्देशनमा भनिएको छ  ।

याे पनि पढ्नुस  काकाकुल छन् सरकारी धाराचोकका स्थानीयवासी

यो खबर आजको नयाँ पत्रिकामा छ ।

कमेन्ट गर्नुहोस्