कांग्रेस–एमालेलाई भोट दिँदै हुनुहुन्छ, नभूलौं यी १३ कुरा !

तपाईको एक भोटले देशलाई बर्बाद या समृद्धितर्फ लैजान सक्छ

वैशाख १३ । आगामी बैशाख ३१ र जेठ ३१ नेपालको इतिहासमा ऐतिहासिक दिन । जुन दिन जनताले २८२०२ जना जनप्रतिनिधि एकैसाथ चुन्नेछन् । जेठ ३१ को तारतम्य अझै मिलिसकेको छैन । तर, बैशाख ३१ को म्याराथुन सुरु भइसकेको छ । नेताहरु भोट माग्दै जनताको दैलोमा आउँदैछन् । ‘साम, दाम, दण्ड, भेद’लाई आदर्श ठान्नेहरु यी २ दिन जनतालाई कसरी मूर्गा बनाउने भन्ने सुर्तामै छन् ।

गरीब देश, जनताका अतृप्त आकांक्षा यही चुनावमा खरिद बिक्री हुन्छन् । पार्टीहरु घोषणा–पत्र जारी गर्छन्, आफ्नो कार्यकालमा भएका २ उपलब्धिलाई रबरझैं तन्काएर २०० पुर्याउँछन् र त्यही गुलेलीले जनताको भविष्यमा हान्छन् । फेरि, त्यही गुलेली लिएर प्रमूख दलका नेता गाउँ छिरिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुका चुनावी नारा अरुका भन्दा गुलिया नै हुन्छन् । तपाई बैशाख ३१ र जेठ ३१ मा रुख र सूर्यमा भोट हाल्दै हुनुहुन्छ ? त्यसभन्दा पहिले यी १३ कुरा नभूलौं र सोचेर मात्रै निर्णय गरौं ।

(१) प्रजातन्त्रको ठेक्का लिएको ६९ वर्षीय बुढो पार्टी नेपाली कांग्रेस । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेरै जनता ढाँट्यो । ००७ सालमा प्राप्त प्रजातन्त्र कांग्रेसकै कमजोरीले २०१७ मा महेन्द्रले हत्याए । २०४६ सालमा प्राप्त प्रजातन्त्र देउवाले २०५९ मा राजामै लगेर बुझाए, यसको जिम्मा कांग्रेसले लिन्छ कि लिँदैन ? रुखमा भोट हाल्नुपूर्व राजनीतिका ७० वर्ष व्यर्थैमा बितेको र हाम्रा दरपुस्ताले राजनीतिक सङ्घर्षमै जीवन बिताएको कुरा स्मरण गरौं ।

(२) २०४८ को निर्वाचनपछि कांग्रेस सत्ताको केन्द्रमा पुग्यो । तर, बामपन्थीहरुमाथि कांग्रेस निरङ्कुश र अनुदार रह्यो । माओवादीले उठाएका जनपक्षीय ४० बूंदे माग देउवाले हेर्नसम्म चाहेनन् । उल्टो फौजी बलमा समस्या समाधानको चेष्टा गरे । माओवादीले संविधान सभाको मुद्दा उठायो, कांग्रेसले नमान्नुकै कारण द्धन्द्ध लम्बियो, १७ औं हजार नेपालको ज्यान गयो । १७ हजारको बलिदानीपछि आखिर संविधान सभा, गणतन्त्र, संघीयता आएरै छोड्यो । यी सबै परिवर्तनमा कांग्रेसले अवरोध नगरेको भए अहिले देश राजनीतिक झमेलाबाट माथि उठेर विकासको मार्गचित्रमा अघि बढिसकेको हुन्थ्यो । राजनीतिक समस्याप्रति आँखा चिम्लने कांग्रेसलाई भोट हालेर कतै तपाई परिवर्तनको गला रेट्दै त हुनुहुन्न ?

(३) देशमा स्थापित ठूला राष्ट्रिय उद्योगहरु २०४६ सालपछि ध्वस्त भए । देशकै गौरव ठानिएका बिराटनगर जुट मिल, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बिरगञ्ज चिनी कारखाना, साझा यातायात, बायु सेवा निगमजस्ता उद्योगहरु कांग्रेसकै कारण ध्वस्त भए । निजीकरणको कांग्रेस नीतिले राष्ट्रि सम्पत्ति र उद्योगहरु चौपट भए । कतिलाई कौडीकै भाउमा बेचियो, कति भागबण्डामा बिलो लगाइयो, कतिमा भोटे ताल्चा ठोकियो । यसको कांग्रेसले जिम्मा लिनुपर्छ कि पर्दैन ? भोट हाल्नुपूर्व निधार खुम्चाएर सोचौं ।

(४) शिक्षा, स्वास्थ्य, खाद्य अधिकार नागरिकका मौलिक हक हुन् । तर, कांग्रेस सत्तामा आएपछि यी सबै नागरिक अधिकारमाथि ताल्चा लगाइयो, शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरियो । आज देशका सार्वजनिक शैक्षिक र स्वास्थ्य संस्थाहरु मृत्युको दिन पर्खेर बसिरहेका छन् । गरीबका छोराछोरीले पढ्ने विद्यालयहरु दिनदिनै खारेज हुने प्रक्रियामा छन् । जनताको उपचार हुने स्वास्थ्य संस्थाहरु जोखिममा छन् । सरकारी डाक्टरले बिरामीलाई नीजि क्लिनिक र अस्पतालहरुमा बोलाएर लुट्न छोडेका छैनन् । यो सबै कांग्रेसकै कारणले भए, गरिए । के तपाईले यो कहालीलाग्दो दृश्यप्रति आँखा चिम्लन मिल्छ ?

(५) नेपालमा पार्टीहरु मध्येको सबैभन्दा पुरानो पार्टी हो कांग्रेस । सत्ताको बागडोरमा सबैभन्दा बढी बसेका कारण देशको प्रगति र दुर्गतिको गुण–दोष मूख्यतः कांग्रेसकै थाप्लोमा जान्छ । देशमा भएका आर्थिक, सामाजिक प्रगति र पूर्वाधार निर्माणको जस लिन तम्सने कांग्रेसले अवनतिको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ । यति धेरै साधन स्रोत र सम्भावनाहरुले भरिपूर्ण भएर पनि देश किन गरीब भयो ? आर्थिक पछौटेपनको अन्त्य किन हुन सकेन ? किन चालीस लाख युवाहरु खाडीमा छन् ? गाउँहरु वृद्धाश्रममा फेरिनुमा दोषी को ? भ्रष्टाचारको जालोले राष्ट्रिय अर्थतन्त्र थिलोथिलो पर्नुमा को जिम्मेवार ? यसको नैतिक जिम्मा कांग्रेसले लिनु पर्छ कि पर्दैन ? भ्रष्टाचारको मुद्दामा कांग्रेसका चर्चित् र प्रभावशाली नेताहरु जेल जानुले भ्रष्टाचारका लागि कांग्रेस नै साधक भएको पुष्टि गर्दछ । के तपाई मतदाताहरु यी सबै कुरामा आँखा चिम्लन सक्नुहुन्छ ?

(६) कांग्रेसकै कार्यकालमा देशका प्राकृतिक साधन स्रोतहरु लुटिए, बेचिए । ठूला–ठूला राष्ट्रघाती सन्धि सम्झौताहरु भए । टनकपुर, कोशी, गण्डकी, महाकाली सन्धिहरु कांग्रेसकै नेतृत्वमा भए । राष्ट्रिय हित र स्वाभिमानका विपक्षमा ठूल–ठूला निर्णयहरु गरिए । नेपालको राजनीतिक सत्तामाथि दक्षिणको दवाव आफ्नै कारण निम्त्याइयो । सामान्य प्रशासन सञ्चालनदेखि सरकारका ठूला निर्णयसम्म विदेशी दवावले प्रभावित भए । आफ्नो स्वाभिमान जोगाउन नसक्दा देशले नाकाबन्दी, वैदेशिक दवाव, आयोजनाहरुमाथि हस्तक्षेपजस्ता नकारात्मक मूल्य चुकाउनु पर्यो । के यो यथार्थ बुझ्दाबुझ्दै राष्ट्रिय अस्मिताविरुद्ध मतदान गर्न तपाईको मन मान्छ ?

(७) नेपाली कांग्रेसपछि सत्ताको बागडोर धेरैपटक सम्हालेको दल हो एमाले । २०५१ को मध्यावधि निर्वाचनयता एमाले कुनै न कुनै बहानामा सत्तामै छ । असाध्यै ढुलमुल, अस्थिर राजनीति र सत्ताकेन्द्रित मनोविज्ञानका कारण एमाले लामो अवधि सरकारबाहिर बसेको इतिहास छैन । दरबार हत्याकाण्डलाई वैधानिकता दिन, आधा प्रतिगमन सचिएको भन्दै ज्ञानेन्द्रको राजनीतिक ‘कू’लाई बलियो पार्न एमालेको नकारात्मक भूमिकाले ठूलो बल मिल्यो । एमालेको अग्रगामी चरित्र हुन्थ्यो भने दरबार हत्याकाण्डको यथार्थ बाहिर आउँथ्यो, ज्ञानेन्द्रले ‘कू’ गर्ने हिम्मत गर्दैनथ्यो, संघीयता र गणतन्त्र सानो संघर्षमै हासिल हुन्थे । यस्तो अस्थिर राजनीतिक चरित्र र सत्ता स्वार्थमा केन्द्रित एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ला ? तपाई भ्रममा त हुनुहुन्न ?

(८) ‘हामी बनाउँछौं नेपाललाई’ भन्ने अम्बे सिमेन्टको विज्ञापनभन्दा फरक छैन एमालेको नारा । सोभियत समाजवाद ढाल्नका लागि साम्राज्यवादले अघि सारेको एनजिओको अस्त्र बोकेर हिड्यो एमाले । राज्यले गर्न नसकेको पूर्वाधार र सामाजिक विकासको काम गर्ने सपना बाँड्यो । एनजिओको एउटै सिद्धान्त छ, त्यो हो, ‘गरीबलाई माछा खान सिकाउ । तर, माछा मार्न नसिकाउ ।’ जब गरीबले माछा मार्न सिक्छ, व्यापारीको माछा बिक्दैन ।’ एनजिओको एक मात्र ध्येय गरीबलाई आफ्ना उपभोक्ता बनाउनु हो, उत्पादक बनाउनु होइन । आज एमाले त्यही गरिरहेको छ । जनतालाई आत्मनिर्भर होइन, परजीवी बनाउने ध्याउन्नमा छ एमाले । त्यसमाथि राज्यबाट आउने अनुदानको २०% मात्र लक्षित वर्गमा खर्च गरेर ८०% ले कार्यकर्ता पाल्छ एमाले । जनता मारेर कार्यकर्ता पाल्ने नीतिले देशको विकास त परै जाओस्, जनताको उन्नति पनि असम्भव छ । यस्तो सपना बेचेर खाने पार्टी रोज्दा तपाईलाई ग्लानी हुँदैन ?

(९) एमालेको सबैभन्दा ठूलो दोष नै राम्रा छोडेर हाम्रा रोज्नु हो । विश्वविद्यालयको उपकुलपति, रजिष्टार, डिन, राजदूत, संस्थानका जिएम, राजनीतिक नियुक्तिमा एमालको पहिलो योग्यता हुन्छ, एमालेको पार्टी सदस्य हुनु । एमालेको पार्टी सदस्य भएपछि उसका लागि सबै योग्यता पुग्छ । आजसम्मको इतिहासमा एमालेले आफ्नो कार्यकर्ताबाहेक अरु कसैलाई नियुक्ति गरेकै छैन । पार्टी सदस्य भएपछि सबै कुराको योग्यता पुग्ने एमाले चरित्रले देशका योग्य नागरिकहरु पाखा लागिरहेका छन् र देशको प्रशासन, सामाजिक संरचना र संस्थाहरु पार्टीकरण भएका छन् । अवसरलाई आसेपासे कार्यकर्ताको घेराभन्दा बाहिर जानै नदिने एमाले नीतिमा तपाई आफ्नो भविष्य देख्न सक्नुहुन्छ ?

(१०) देशको राष्ट्रियता र स्वाभिमान बेच्न एमालेको पनि कम भूमिका छैन । महाकाली सन्धिकै कारण एमाले फुट्यो, बामदेवहरु राष्ट्रियताको नारा बोकेर एमालेबाट बाहिरिए । २०५२ मा एमालेले कौडीकै मूल्यमा महाकाली बेच्यो । मदन भण्डारीको रहस्यमय हत्यामा एमाले मुकदर्शक बन्यो । २०५८ मा राजा बीरेन्द्र मारिए, फेरि एमाले लक्पकायो । २०६५ मा प्रचण्डले रुक्माङ्गत कटुवाललाई कार्वाही गरे, भारतकै निर्देशनमा एमाले चल्यो र आफ्नो निर्णय फेर्यो । माधव नेपाल भारतकै बुई चढेर प्रधानमन्त्रीको कुर्सीमा पुगे । पशुपतिमा भारतीय पूजारी हटाउँदा भारतीय राजदूत राकेश सुदसँग मिलेर केपी ओलीले विरोध सभा नै गरे । अन्तिममा भारतले प्रधानमन्त्री बन्न रोकेपछि मात्रै केपी ओली र एमालेले राष्ट्रियताको मुद्दा उठाए । आफ्नो स्वार्थका लागि मात्रै राष्ट्रियता ओकल्ने एमाले नीति कति परिपक्व होला ? एमाले राष्ट्रवादी भएको भ्रम कति दिन पाल्नु हुन्छ ?

(११) नेपालका दलित, महिला, जनजाति, अल्पसंख्यक, मधेशी र थारुलाई हेर्ने एमाले दृष्टिमा गम्भीर दोष छ । एमाले खस–आर्य बाहेक अरु समुदायलाई नेपाली नै देख्दैन । कसैले अरु समुदायको हक र अधिकारको कुरा गर्यो भने अराष्ट्रिय तत्व ठान्छ, राष्ट्रिय एकतामा खलल पुगेको व्याख्या गर्छ । अनि, केपी ओली विभिन्न उखान टुक्काको सहारा लिएर उनीहरुमाथि छेडछाड र मानमर्दन गर्छन्, एमालेका कार्यकर्ता ताली पिट्छन्, सिठ्ठी बजाउँछन् । छिमेकीले मधेशीलाई आफूतिर तान्न खोज्दा एमाले आफूतिर विश्वासमा लिने होइन, उतै धकेल्छ । यसले देशको आन्तरिक एकता नै सङ्कटमा पर्छ । नागरिकको भावनामा एकता भएपछि मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने एमाले बुझ्दैन । उत्पीडितहरुलाई नत्थी लगाएर आफ्नो नियन्त्रणमा ल्याउने आत्मघाती बाटो रोज्छ । आफ्नै पहिचान, स्वाभिमान, एकता, भाषा, संस्कृति र सभ्यताका विरुद्ध ज्यान फालेर लाग्ने एमालेलाई भोट दिँदा तपाई महिला, दलित, जनजाति र उत्पीडितहरुलाई आत्म सन्तोषको अनुभूति होला ?

(१२) एमाले सिद्धान्तको कुरा गर्छ । तर, राजनीति छलछामको गर्छ । आफ्नो स्वार्थका लागि जस्तोसुकै हत्कण्डा अपनाउन र सुत्र बनाउन उनीहरु खप्पिस हुन्छन् । कसैलाई तीतो बोल्दैनन् । तर, मनभित्र पापको पोको जमेको हुन्छ । मिठो बोलीले जनता लठ्ठ पार्ने लागुऔषधमा एमाले माहिर छ । उनीहरु कसैको कुनै पनि काम हुँदैन भन्दैनन् । तर, व्यवहारमा त्यो काम गर्दैनन् । आफ्नै कार्यकर्ताको बीचमा पनि छक्का पञ्जाको राजनीति गर्छन् । एमालेको यही विशेषताका कारण इमान्दार कार्यकर्ताहरु बगरमा फालिन्छन् र अवसर जति अवसरवादीहरुकै पोल्टामा पर्छ । ‘भोलिवादको झोली’मा भोट थाप्ने एमाले प्रपञ्चले एक दिन तपाईलाई पश्चातापमै पुर्याउनेछ ।

(१३) चुनावका बेला ‘भोज भतेर र पैसाको खोलो’ बगाउनु कांग्रेस–एमालेको चुनावी रणनीति हो । उनीहरु चुनावका बेला मासु–रक्सी खुवाउँछन्, पैसा बाँड्छन्, पाइप, जाली, बल, नेट, भाँडाकुँडा सबै बाँड्छन् । तर, त्यत्रो लगानी त्यसै पक्कै छोड्दैनन् । गाउँपालिकाको मेयर, उपमेयरले चुनाव जित्न करोड खर्च गर्छ भने जितेपछि उसले पहिलो काम के गर्ला ? जनताको सेवा, विकास निर्माण कि आफ्नो लगानी उठाउने जमर्को ? राजनीतिलाई व्यापार ठान्नेहरुको पहिलो काम लगानी उठाउनु नै हुन्छ । सम्झनुहोस्, ‘चुनावका बेला तपाईलाई दिएको १०००÷१५०० रुकम चुनावपछि ब्याज र नाफासहित असुल्छन् । त्यही लगानी उठाउन नेताहरु ठेकेदारका तलुवा मोल्छन्, घुसको फन्दामा पर्छन् । के तपाईलाई अहिले १००० लिएर भोलि आफ्नो सर्वस्व गुमाउन रहर छ ?

निर्वाचनका बेला तपाईले दिने एक मतले देशको भविष्य बनाउन र डुवाउने दुवै काम गर्न सक्छ । यथार्थ बुझ्दा बुझ्दै भावनामा बहकिएर, आफन्तको मायाजालमा परेर, आर्थिक र अन्य प्रलोभनमा परेर गलत ठाउँमा भोट दिनु भयो भने त्यसले तपाईकै पुस्ताको भविष्य अन्धकारमा धकेलिने छ । तपाईको भावी पुस्ताले धिक्कार्नेछ । त्यसैले कांग्रेस–एमालेलाई भोट हाल्नुपूर्व माथिका १३ कुरामा गम्भीर रुपले विचार गरौं । अनि, देश, समाज र आफ्नै भविष्यलाई सम्झिएर सही ठाउँमा मत जाहेर गरौं ।

कमेन्ट गर्नुहोस्