अबको प्रधानमन्त्री देउवा : रक्षामन्त्री

काठमाडौं, बैशाख १३ । रक्षामन्त्री बालकृष्ण खाँणले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने दावी गरेका छन् । स्थानीय तहको निर्वाचनपछि जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने उनले दाबी गरेका हुन् ।

राजधानीमा आयोजित कार्यक्रममा उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तहको निर्वाचनसम्म कायम रहने भन्दै आगामी प्रधानमन्त्री देउवा नै हुने दावी गरेका छन् ।

मन्त्री खाँडले भने, ‘म त चाहन्छु यो गठबन्धन लामो समयसम्म जाओस्, किनकी नेपालमा द्धन्द्ध व्यवस्थापन गर्न काँग्रेस र माओवादीले भूमिका निर्वाह गरेको हो ।’

यस्तै उनले ७ वटै प्रदेशमा पृत्तनापति राखिने र प्रदेशको आवश्यकता अनुसार पृत्तनापतिको संख्या थपिने पनि स्पष्ट पारे ।

खाँणले मुलुक संघीय संरचनामा गैसकेकोले नेपाली सेनालाई पनि संघीय संरचना अनुसार नै ७ वटै प्रदेमा उपस्थिति गराउने र पृत्तनापतिको संख्या पनि थप्नेबारे अहिले आन्तरिक छलफल भैरहेको बताएका हुन् । यद्धपी उनले संघीय प्रदेश अनुसार सेनाको संरचना बनेपनि सेन्ट्रल कमाण्ड अनुसार नै सेना रहने जानकारी दिए ।

खाँणले सरकारले प्रतिरक्षा नीति बनाउनुपर्छ भनेर राष्ट्रिय सुरक्षा परिषदमा कुरा उठेकोले यसबारेमा सरकार र सुरक्षा परिषदवीच सैद्धान्तिक छलफल सुरु भएको समेत जानकारी दिए । प्रतिरक्षा नीतिको लागि विज्ञसहितको एउटा समिति वा आयोग बनाउने तयारी रहेको उनको भनाई थियो ।

उनले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली सेना ब्याक लाईनमा खटिने बताए । उनले भने,‘नेपाली सेना नेपाल र नेपालीहरुको लागि अभिन्न अंग हो, सेनाले राष्ट्रिय अखण्डताको सम्र्वद्धन, राष्ट्रियताको रक्षा र सार्वभौमसत्ताको जर्गेनाको लागि अतुलनीय योगदान पुर्याएको छ, त्यस्तै अहिले संविधान कार्यान्वयनको लागि पनि सेना गम्भिर छ ।’ जनताको हित र देशको सुरक्षाप्रति सेनाप्रति ठूलो विश्वास रहेकोले विगतमा भएको संविधानसभाको चुनावमा जस्तै यसपटकको स्थानीय तहको निर्वाचनमा फ्रन्ट लाईनमा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र ब्याक लाईनमा नेपाली सेना रहनेबारे सैद्धान्तिक सहमति भैसकेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्