एकता भएको एक साता नवित्दै नाम फेरे मधेसी दलले

काठमाडौं, वैशाख १३ । मधेसवादी ६ दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टीले एकसाता नबित्दै पार्टीको नाम फेरेको छ ।

वैशाख ७ गते मधेसवादी ६ दलबीच एकता भई उक्त नाम राखिएकोमा निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ यसअघि नै दर्ता भइसकेको पाइएपछि पार्टीको नाम फेर्नुपरेको हो । अब उक्त पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल हुने भएको छ ।

संसदमा रहेका छ दलबीच एकीकरण गरी राष्ट्रिय जनता पार्टी, नेपाल बनाएको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् ।

राजपा नेपालका नेता रामनरेश यादवले पार्टी तथा चुनावको आधिकारिकता दिनका लागि आयोगलाई पत्र बुझाएको बताए । सविधान संशोधनपछि चुनावमा भाग लिने र त्यसका लागि पार्टी र चुनाव चाहिने भएकाले सो को माग गर्दै आयोगलाई पत्र बुझाएको उनले बताए ।

यद्यपी वैशाख ११ गते प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा आयोग र राजपाबीच भएको छलफलमा आयोगले अब नयाँ दल तथा नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेका थिए ।

एकीकृत भएका छ दलमध्येबाट नै कुनै चुनाव चिन्ह प्रयोग गर्न पनि आयोगले सुझाव दिएको थियो । निर्वाचन आयोगले संसदमा रहेका दल भन्दा बाहिरको चिन्ह दिनै नमिल्ने स्पष्ट गरेको छ ।

कमेन्ट गर्नुहोस्