बाबुरामजी, प्रचण्ड भन्दा उपेन्द्र यादव कसरी प्रगतिशील ?

पुरानो घरकै इटा र काठ हुलेर कस्तो नयाँ घर बनाउनु खोज्नु भएको हो ?

कमरेड बाबुराम,

यो कमरेड भन्ने शब्द सुन्दा तपाईलाई कता कता जिस्क्याएको जस्तो लाग्ला, तर के गर्नु, तपाईलाई अझै पनि कमरेड नै भन्न मन लाग्छ । त्यसो त तपाईले हाम्रा आदर्श र सपनाहरुको घाँटी चटक्क निमोठेर यी सपनाहरुको अर्थ छैन भन्ने घोषणा गर्दा तपाईंको घाँटी नै च्याप्न मन नलागेको होइन । तर माओवादीभित्रको त्यतिबेलाको गैर पद्धतीगत संगठनको चरित्रले निम्त्याएको रिसका कारण तपाईले त्यसो भन्नु भएको होला भनेर चित्त बुझेको थियो ।

तपाईंले नयाँ शक्ति खोल्दा परिस्थिति उपयुक्त थिएन । त्यो तपाईको निर्णय इतिहासले सही साबित गर्न सक्दैन पनि । तर तपाईले नेपालका राजनीतिक दलहरुभित्रको संस्कार, चरित्र र संगठनात्मक पद्धतीका बारेमा केही गम्भीर प्रश्न उठाउनु भएको थियो । नयाँ नेपालका लागि नयाँ ढंगको विचार र संगठन आवश्यक भएको कुरा गर्नु भएको थियो । सिद्धान्तका पोथाले वाक्क दिक्क भएका नेपाली जनताका अगाडि तपाईको व्यक्तित्व र तपाईले राख्नु भएका कुरा हेरौं न त भन्ने अवस्थामा देखिएका थिए । यही आधारमा समाजको एउता तप्का तपाईंसँग जोडियो पनि ।

तर समयक्रमसँगै तपाईले सोचे अनुरुप भएन । मधेसको रापलाई क्यास गर्न सकिन्छ कि भनेर तपाई जनकपुर पुग्दा तपाईको बहिस्कार भयो । मधेसी मोर्चाले तपाईलाई आउटसाइडरका रुपमा व्यवहार गरे । पहाडमा तपाईप्रति एक हदसम्मको आकर्षण थियो । तर तपाईले खिचडी पकाउन खोज्नु भएको थियो, त्यो पाकेन । कुनै दाल छिटै गल्ने, कुनै गल्दै नगल्ने, थरीगरी रंग एउटै ठाउँ मिसाउँदा त्यो कालो र कुरुप, विद्रुप हुन्छ, त्यही तपाईको हकमा भयो । नयाँ शक्ति साँच्चिकै नयाँ बन्न सकेन । अधिकांश जिल्लामा तपाईले केही नयाँ गर्नु हुन्छ कि भनेर लागेकाहरुले पार्टी त्यागे । त्यसरी पार्टी त्याग्दै जाने क्रम र यता राष्ट्रिय राजनीतिमा समेत तपाईको भूमिका कमजोर हुँदै जाने, पार्टी र संगठनभित्र विवाद चर्किने, आफ्नै नजिकका साथीहरुले समेत छोड्ने क्रम बढेपछि तपाईभित्र एउटा इगोले जन्म लियो ।

कमरेड बाबुराम, यो इगोलाई तपाईले तर्कका जलपले अझ निखार्नु भयो । तपाई भित्रको यो इगो कुनै पनि अर्थमा बस्तुवादी थिएन । तपाईले गलत स्थानमा कुवा खन्नु भएको थियो । त्यसबाट पानी आउन सक्ने थिएन । तर स्यालले अंगुर टिप्न नसकेपछि अंगुर नै अमिलो भनेर गाली गरेको उखान छ नि, तपाईले त्यही गर्नु भयो ।

कमरेड प्रचण्डले एउटा अन्तर्वार्तामा भनेका थिए– मान्छे इगोका कारण विचलन हुन थालेपछि यति पर पुग्छ कि त्यहाँ पुगेको उसलाई समेत पत्तो हुँदैन । तपाई त्यही हुनु भयो । एकपछि अर्को गर्दै जाँदा तपाई अहिले उपेन्द्र यादवसँग पार्टी एकता गर्न पुग्नु भयो । यो जस्तो भद्दा स्खलन तपाईको अरु के हुन सक्ला र ?
तपाईं त नयाँ बनाउन हिँडनु भएको होइन, नयाँ ढंगका कार्यकर्ता, नयां ढंगको निर्णय प्रक्रिया, नयां शैलीको पार्टी, नयाँ विचार, नयाँ उत्साह । अनि अहिले कहाँ हरायो त्यो नयाँ कमरेड ? कतै काम नलागेका, खिया लागेका अशोक राईदेखि उपेन्द्र यादवसँग तपाईको एकता के अर्थमा नयाँ शक्ति हो बाबुराम जी ? भोलीका दिनमा कमल थापाले एकता गरौं भन्लान्, कांग्रेसका केही मानिसहरुले एकता गरौं भन्लान्, एमालेले एकता गरौ भन्लान । अनि के गर्नु हुन्छ ? शक्ति प्राप्त गर्न जोसँग पनि घाँटी जोड्ने हो भने तपाई कसरी नयाँ ?

तपाईले एउटा गम्भीर आरोप लगाउनु भएको थियो– पुरानो भत्केको घरलाई टालटुल मात्रै गर्न सकिन्छ, त्यसलाई नयाँ बनाउन सकिन्न । तर पुरानो घरकै ढुंगा, इटा र काठ हुलेर तपाईलाई चाहिँ कस्तो नयाँ घर बनाउनु खोज्नु भएको हो ? यसको जवाफ दिन सक्नुहुन्छ ?

तपाई त एउटा इतिहास बोकेको व्यक्ति हो । नेपाली समाजमा नयाँ चाहिन्छ र यो नयाँका लागि पुरानोको ध्वंस गर्नुपर्छ भन्ने क्रान्तिकारी सोच बोक्ने मान्छे हो । तपाईले जति माक्र्सवाद कसले बुझेको छ होला ? तर अहिले तपाईले जे गर्दै हुनुहुन्छ, त्यो के अर्थमा नयाँ र रुपान्तरणकारी हुन सक्छ ? तपाईले चुनाव चिन्ह पाउनका लागि एकता गर्नु भयो, भोली प्रधानमन्त्री या मन्त्री या अरु शक्ति प्राप्त गर्न सम्झौता गर्नु होला ? यदि विचारकै आधारमा या स्पिरिट र चरित्रकै आधारमा भन्ने हो भने अशोक राई र उपेन्द्र यादव भन्दा प्रचण्ड नै प्रगतिशील होइनन् र बाबुराम जी ?

आफ्नो सिंगो जीवन नेपाली समाजको रुपान्तरणका लागि खर्चिने माओवादीका साथीहरु प्रगतिशील कि उपेन्द्र यादव ? तपाईले उपेन्द्र यादवलाई देख्नुहुन्छ ? तर कुन अर्थमा ? जवाफ दिनुस् । कुनै बेला मधेस, दलित, जनजातिलगायत उत्पीडित जनताका मुद्दा तपाई र प्रचण्डहरुले उठाउँदा यिनै उपेन्द्र यादवले तपाईलाई गद्दारी गरेका होइनन् । यी अशोक राई त्यतिबेला एमाले भित्र जनजाति अधिकार चाहिँदैन भन्ने वकालत गर्दै थिए । जबकि तपाईहरुले अग्रगमनका लागि नै टाउकोमा कफन बोक्नु भएको थियो । अब भन्नुस्, प्रचण्ड क्रान्तिकारी कि उपेन्द्र यादव ?

लाज र शरमको एउटा सीमा हुन्छ बाबुरामजी, अब तपाईले त्यो पचाउनु भयो । तर यो स्थितिले तपाईको भविष्य के हुन्छ ? तपाईलाई माया गर्नेहरुले त्यो पचाउनै पर्ने देखिन्छ । तपाईलाई माया गर्नेहरुले तपाईको यो पतन आफ्नै आँखा अगाडि दुख मान्दै हेर्नुपर्ने अवस्था आएको छ । सक्नुहुन्छ भने इगो त्याग्नुस्, माक्र्सवाद सत्य हो तपाईलाई थाहा छ, फर्किनुस् र शुरु गर्नुस् एउटा नयाँ यात्रा, आफ्नाहरुलाई बटुलेर नयाँ घर बनाउँदै ।

भीष्म थापा

कमेन्ट गर्नुहोस्