लमजुङमा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल

लमजुङ, वैशाख १४ । प्रतिपक्षी एमालको भूमिका कारण सरकार अप्ठ्यारोमा भएपनि माओवादी केन्द्र लमजुङले भने प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको छ ।

स्थानीय तह निर्वाचनमा संयुक्त मोर्चामार्फत चुनाव लड्न दुबै दल जिल्लामा सहमत भएका छन् । दुबै दलले पत्रकार सम्मेलनको आयोजना गरी सबै तहमा चुनावी एकता भएको बताएका हुन ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरि ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएका छौं’ भनी उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष दवाडीले अन्य बाम घटलाई पनि संयुक्त मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । एक अर्को दलमा आँच नपुग्ने गरी उम्मेद्वार तय गर्ने कार्य भइरहेको र एउटा दलले उम्मेद्वार उठाएको ठाउँमा अर्को दलले एउटै पदमा उम्मेदवार नउठाउने सहमति दुबै दलले गरेका छन् ।

माओवादी केन्द्रका इन्चार्ज पौडेलले समृद्ध लमजुङ बनाउने संकल्पका साथ दुई दलबीच चुनावी तलमेलका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए ।

‘संविधानले स्थापित एजेण्डालाई कार्यान्वयन गर्न र स्थानीय तहमा जनताले चाहेको सरकार बनाउन हामी तयार भएका छौं । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो हो,’ उनले भने ।

जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्