सरकारले नै निर्वाचन भाँड्ने षडयन्त्र गरेको हाे : ओली

काठमाडौं, वैशाख १४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नै निर्वाचन भाँड्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा एमाले केन्द्रीय प्रचार विभागले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय प्रचार भेलामा अध्यक्ष ओलीले त्यस्तो अरोप लगाएका हुन् । ओलीले भने, ‘एमालेले निर्वाचन भाँड्न खोज्यो भन्छ तर सरकार आफै निर्वाचन भाँड्ने खेलमा लागिरहेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागिरहेको आरोप पनि लगाएका छन् । उनले चुनावको मुखमै आएर सरकारले विभिन्न बहाना गरी निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

ओलीले चुनावको आवरणमा सरकारले तराई र पहाडलाई छुट्याउन खोजिरहेको जिकिर गर्दै सरकार र केही बद्नियत भएका शक्तिको षड्यन्त्रलाई सफल हुन नदिने बताए ।

प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई पक्राउ गरिएको सन्दर्भमा अध्यक्ष ओलीले वर्तमान सरकार धाँधलीपूर्ण र किर्ते काममा लागेको आरोपसमेत लगाए । अब जसरी पनि चुनाव भएरै छोड्ने उनले दावी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: