क्रिकेटर गौतम गम्भीरद्वारा माओवादीबाट मारिएका २५ प्रहरी परिवारको खर्च ब्यहोर्ने घोषणा

नयाँ दिल्ली, वैशाख १५ । छत्तीसगढको सुकमामा भएको माओवादी आक्रमणमा परी मृत्यु भएका प्रहरीका परिवारलाई क्रिकेटर गौतम गम्भीरले सहयोग गर्ने घोषणा गरेका छन् ।

आइपिएल को दशौं संस्करणमा उत्कृष्ट टीमको नेतृत्व गर्दै आएका भारतीय क्रिकेटर गौतम गम्भीरले सुकमामा मारिएका प्रहरीका बालबालिकाको शिक्षादीक्षाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन ।

हिन्दूस्तान टाइम्सको स्तम्भमा आफ्ना विचार लेख्दै गम्भीरले केन्द्रीय रिजर्भ प्रहरी बलका २५ जना प्रहरी मारिएको घटनाले आफू दुखी भएको बताए काछन् । “बुधबार बिहान अखबार पढिरहेका बेला त्यहाँ छापिएका दुईवटा तस्वीरले मेरो मन छोयो ।” गम्भीरले लेखेका छन्, “एउटा तस्वीरमा एक बालिका आफ्ना शहीद बुवालाई सलामी दिइरहेकी थिइन भने अर्कोमा शहीद पत्नीलाई नातेदारहरुले सान्त्वना दिइरहेका थिए । यी तस्वीर देखेर मलाई निकै दुख लाग्यो ।”

गौतम गम्भीरले आफ्नै नाममा खोलिएको फाउण्डेशनका तर्फबाट प्रहरीका परिवारलाई सहयोग गर्ने काम शुरु गरिसकिएको बताएका छन् । गौतमले घटनाको बिरोधमा बुधबार राती राइजिङ पुने सुपरजाइन्ट्ससँगको खेलमा कालो पट्टी लगाएर खेलेका थिए ।

यसअघि वलिउड कलाकार अक्षय कुमारले समेत मृतक प्रहरीका परिवारलाई सहयोग गर्न अनुरोध गरेका थिए ।
मंगलबारका दिन छत्तीसगढको सुकमामा भएको आक्रमणमा २५ प्रहरीको मृत्यु भएको थियो । प्रहरीले घटनापछि निकै ठूलो अप्रेसन चलाइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: