मौसम परिवर्तनबाट हुने एलर्जीबाट बच्न के गर्ने ?

डा. ललितकुमार मिश्र

व्याक्ति स्वस्थ भए राम्रोसँग काम गर्न सक्छ । आजको भागदौडको जीवनमा सानातिना कयौं रोगले मानिसलाई हैरान पारेको हुन्छ । बदलिँदो मौसममा एलर्जी हुनु सामान्य हो । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको ( इम्युन सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनका कारण मानिस एलर्जीबाट प्रभावित हुन्छ ।
बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (स्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुनु सामान्य हो ।

मौसममा परिवर्तन हुँदा केटाकटी, महिला तथा बूढापाकामा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशत बढ्न सक्छ । आमाबाबुमध्ये कुनै एकलाई एलर्जीको समस्या छ भने उनीहरूका सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

तीन लक्षण: शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, हाँच्छ्यु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुका साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका अवस्था हुन् ।

एलर्जीको उपचार भनेको वातावरणमा भएको एलर्जनबाट बच्नु नै हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन ।
खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि अनुहार चिलाउने, डाबर आउने, ओठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता आउने चक्कर लाग्ने, ब्लडप्रेसर कम हुने, बेहोश भएर लडने आदि लक्षण देखिन्छन् । यसैका आधारमा रोगको पहिचान हुन्छ ।

अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलैसँग यस रोगबाट छुटकारा पाउन सकिन्छ ।

एलर्जीको मुख्य कारण
एलर्जीको मुख्य कारण प्रदूषण, धूलो, माटो, घाँस, पराल, एवं रूखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी । घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । यही एलर्जी (नाकको म्युकस झिल्लीको प्रदाह) राइनाइटिसको कारण बन्छ । यसबाहेक कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं झरिरहन्छ । जुन एलर्जीको कारण बन्छ ।
जोखिम

नाकको एलर्जीले साइनसको आस्टिया (हड्डीको प्वाल) लाई बन्द गर्नसक्छ, जुन पछि गएर साइनसाइटिस (पिनास) को कारण बन्नसक्छ । यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउनसक्छ । यसले आडिटरी ट्युब ( श्रवण) नलीलाई बन्द गर्नसक्छ र कानको मध्य भागमा पानी भरिन सक्छ । यस्ता बिरामीमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढ्न जान्छ ।

बच्ने उपाय
– इन्फेक्सनबाट बच्ने प्रयास गर्ने
– चिसो हावा, धूलो, धुवाँ र ओसिलो ठाउँबाट जोगिने
– घरबाट बाहिर निस्किँदा धूलोको कण नाकभित्र कम प्रवेश गर्ने उपाय अपनाउने
– मास्क या रुमाल प्रयोग गर्ने
– घरपालुवा जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने
– घर या कार्यालयमा ओसिलो स्थान छ भने त्यसबाट बच्ने
– धूमपान नगर्ने । नजिकको कुनै मानिसलाई चुरोटको धुवाँले एलर्जी छ भने त्यसबाट जोगिने
– कुनै खाद्य पदार्थ खानाले नाकमा एलर्जी हुन्छ भने त्यो वस्तुको सेवन नगर्ने
– नाकको एलर्जीले बढी दुःख दिएको छ भने नोजल स्प्रे प्रयोग गर्न सकिन्छ
– जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको

कस्मेटिक प्रयोग नगर्ने
– हाम्रो वरिपरि भएका एलर्जी उत्पन्न गराउने तत्त्वहरू (एलर्जन)बाट बच्ने
– धेरैजसो व्यक्तिको छाला अत्यधिक संवेदनशील हुन्छ । आर्काको वस्तु र सामान प्रयोग गर्नाले पनि एलर्जी भइहाल्छ । जस्तो सुत्ने बिस्तरा, शौचालय, लगाएको लुगा, जुत्ता, चप्पल आदि । यसमा विशेष ध्यान दिने
– घरमा बाती (सलेदो) भएको स्टोभको सट्टा एलपीजी या इलेक्ट्रिक स्टोभ उपयोग गर्ने
– सडक छेउमा घर छ भने बाहिरको धूलो, माटो कोठाभित्र आउनसक्छ, त्यसलाई रोक्न झ्यालढोका सकेसम्म बन्द राख्ने वा मसिनो जाली लगाउने
– किचनमा एक्जास्ट फ्यान प्रयोग गर्ने
– धेरैजसोलाई फूलको वासनाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिले फूल फुल्ने किसिमको बिरुवा कोठामा नराख्ने
– आफ्नो ओछ्यानलाई सफा सुकिलो राख्ने
– घरमा गिलो कपडाले पोछा नलगाउने
– घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाई ब्लिचले सफा गर्ने । वर्षा मौसम स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ तर केही खास किसिमका रोग जस्तै— अस्थमा, हृदयरोग, क्यान्सरबाट ग्रसित मानिसका लागि यो मौसमले समस्या गर्ने भएकाले सचेत हुने ।

उपचार
एलर्जीको उपचार भनेको वातावरणमा भएको एलर्जनबाट बच्नु नै हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन । जुन वस्तुसँग एलर्जी छ त्यसबाट टाढा रहनु हो । घामबाट एलर्जी छ भने घाममा नहिँड्नुहोस् । हिँड्नै परे छाता ओढेर हिँड्ने गर्नुस् ।
होमियोप्याथिक चिकित्सामा रोगीको इम्युनोसिस्टमलाई सबल बनाई रोग प्रतिरोधात्मक क्षमता बढाएर यस रोगको जरैबाट उपचार गर्ने गरिन्छ । यसबाट एलर्जी स्थायी रूपमा निको भएर जान्छ । होमियोप्याथिकमा रागीको मानसिक एवं शारीरिक लक्षण हेरेर उपचार गरिन्छ ।

औषधि
धूलो र परफ्युमबाट हुने एलर्जीका लागि हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ । रोटी र अमिलो खाद्यपदार्थबाट हुने एलर्जीका लागि नेट्रमम्युर प्रयोग गर्न सकिन्छ । उमालेको दूध पिउँदा हुने एलर्जीमा सिपिया नामक औषधि उपयोगी हुन्छ । नुन, मख्खन, अण्डा र कुखुराको मासुबाट एलर्जी छ भने कार्बोभेज सेवन गर्दा फाइदा हुन्छ ।
कफी पिउँदा एलर्जी उत्पन्न हुन्छ भने नक्स बोमिका लिन सकिन्छ । घामबाट एलर्जी छ भने बिरामीले एपिसमेलिफिका औषधि प्रयोग गरेमा निको हुन्छ । फूलको सुगन्धबाट एलर्जी हुन्छ भने एलियन्थस नामक औषधि सेवन गर्दा राम्रो हुन्छ । .

अन्नपूर्ण पाेष्टबाट साभार

कमेन्ट गर्नुहोस्