जहाँतही बाटो काट्नेलाई जरिवाना

काठमाडौँ, वैशाख १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवाना गर्नेभएको छ ।

महाशाखाले आज आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।”

प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए ।

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए ।

उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताए ।

त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: