सर्वदलीय वैठक : निर्वाचन एकै चरणमा हुनसक्ने, बजेट ल्याउने विषयमा विवाद

काठमाडौं, बैशाख १५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको सर्वदलीय वैठकमा स्थानीय निर्वाचन एकै चरणमा हुनसक्ने सम्भावनाबारे छलफल गरिएको छ । प्रधानमन्त्री संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको उक्त बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको थियो ।

बैठकमा दलका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गरेका एजेण्डामाथि आ–आफ्ना धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले पनि घुमाउरो पारामा प्राविधिक समस्या देखाउँदै निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा व्यक्त गरेका थिए । उनको धारणाप्रति अधिकांश उपस्थित सांसदहरुले सहमति जनाएका थिए ।

वैठकमा प्रधानमन्त्री प्रचण्डले सहमतिमा मुलुक अगाडि बढाउनका लागि संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । उनले दुई चरणमा निर्वाचन गर्दा पहिलो मतगणनालाई के गर्ने तथा दोस्रो निर्वाचनअघि बजेट के गर्ने भन्नेबारेमा दलहरुको धारणा मागेका थिए ।

दलहरुबीचको छलफल सकारात्मक रहेको र बजेट पारित हुने सम्भावना बढेको मधेसी मोर्चाका नेता अनिल झाले बताएका छन् । वैठकमा बजेटबारेमा भने दलहरुको मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने संशोधनमा सहयोग नगर्ने स्पष्ट गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नी खरेल, राप्रपा नेता पशुपति शमसेर राणा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: