अवैध ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन सकिएन

लोकेश धामी

कैलाली, बैशाख १५ । कैलालीमा सयौँको सङख्यामा सञ्चालनमा रहेका अवैध कोचीङ तथा ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय असफल देखिएको छ ।

धनगढी, अत्तरिया, लम्की, टीकापुर, सुखड, मसुरिया, चौमाला र फुलवारी लगायतका क्षेत्रमा अवैध ट्युसन सेन्टर खुल्ने क्रम बढ्दै गएको छ तर नियमन गर्ने निकाय भने मौन छन् । ट्युसन सेन्टर सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयमा दर्ता गर्नै पर्ने प्रावधान भए पनि अवैध रुपमा सञ्चलनमा रहेका ट्युसन सेन्टरले अभिभावकहरु माथी आर्थीक बोझ थपीदिएका छन् ।

रोचक कुरा त के छ भने सामुदायिक विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षकहरुले नै तिनै विद्यार्थीलाई ट्युसन पढाउन ट्युसन सेन्टर सञ्चालन गरेका छन् ।यता शैक्षिक क्षेत्रका विकृती हटाउने प्रण सहित आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुको ध्यान पनि अवैध ट्युसन सेन्टर तर्फ गएको छैन् ।

पहिले–पहिले परिक्षा सञ्चालन हुनपुर्व एक महिना अगाडी मात्रै ट्युसन पढ्ने चलन थियो तर अहिले शैक्षिक सत्र सुरु भएसंगै ट्युसन पढ्ने परिपाटी बसीसकेको छ । तर ट्युसन सेन्टर सञ्चालन गरेकाहरुले न त जिल्ला शिक्षा कार्यालयमा दर्ता गराएका छन् न त कुनै मापदण्ड नै निर्धारण गरेका छन् ।

सामुदायिक विद्यालयका शिक्षकले लुकेर पढाए पनि नीजि विद्यालयहरुले भने हाकाहाकी ट्युसन पढाउने गरेका छन् । उनीहरुले विद्यार्थीको पढाई राम्रो बनाउन तथा परीक्षामा धेरै विद्यार्थी पास गराउन अभिभावकको ढाड भाच्चिने गरी शुल्क लिने गरेका छन् । धेरै नीजि विद्यालयहरुले विद्यालय हाताभित्रै चर्को शुल्क लिएर ट्युसन सञ्चालन गरेका छन् ।

कमेन्ट गर्नुहोस्