दलहरू मिलाउने जिम्मा नेपाली कांग्रेसकाे हाे : नेता आचार्य

काठमाडौँ, वैशाख १६ । नेपाली काँग्रेसका नेता महेश आचार्यले हिमाल, पहाड, मधेस मिलाउने मुख्य जिम्मा नेपाली काँग्रेसको रहेको बताएका छन् । संविधानको रक्षाका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका नेता आचार्यले सबै दललाई मिलाएर निर्वाचनमा लैजानु नै काँग्रेसको मुख्य चुनौती भएको बताए ।

नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको भूमिका र चुनौतीहरु’ विषयक विचार गोष्ठीमा नेता आचार्यले काँग्रेसले स्थानीय तहका लागि ल्याएको घोषणापत्र समयअनुसार सान्दर्भिक रहेको बताए ।

उनले काँग्रेसको विचारको राजधानी विराटरनगर भएको भन्दै विराटनगरमा काँग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

काँग्रेस नेता डा. मीनेन्द्र रिजालले सिंहदरबारको अधिकार गाँउगाउँसम्म पु¥याउने भएकाले स्थानीय तहको निर्वाचन चाँडो हुनुपर्ने बताए ।

उनले भने, “काँग्रेस नै निर्वाचनको बारेमा आशंका गरे निर्वाचन नचाहने तत्वलाई फाइदा पुग्छ त्यसैले निर्वाचनबारे आशंका नगरौँ ।”

नेता डा रिजालले संविधान सबैको स्वीकार्य बनाउनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहको निर्वाचन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिँदै स्थानीय तह बुझेका व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने बताए ।

सांसद अमृत अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बुझेको व्यक्तिलाई स्थानीय तहको उम्मेद्वार बनाउनुपर्ने बताए ।

काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले लामो समयदेखि हुन नसकेको निर्वाचन वैशाख ३१ मा हुन लागेको भन्दै निर्वाचनमा काँग्रेसलाई विजय गराउन सबै एकजुट हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: