मनोमानी शुल्क रोक्नुपर्दछ : सभापति झा

काठमाडौँ, वैशाख १७ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले निजी विद्यालयले मनोमानी रुपमा बढाएको शुल्कबारे चासो व्यक्त गरेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) शिक्षामा सुशासन र उत्तरदायित्व तथा नागरिक सहभागिता बढाउन आयोजित ‘राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने’ कार्यक्रममा उनले शिक्षा मन्त्रालय जिम्मेवार नभएका कारण हरेक वर्षको निजीले शुल्क बढाएर विवाद उठ्ने गरेको बताए ।

उनले निजीले मनोमानी रुपमा बढाएको शुल्क रोक्नुपर्ने बताए । ‘‘सरकारले शुल्कका बारेमा निश्चित मापदण्ड तोकेको छ । तर निजीले पालना गरेको देखिदैँन’’ उनले भने, –‘‘मन्त्रालयले आँट गरेर शुल्क निर्देशिका मापदण्ड कडाइका साथ पालना गर्नुप¥यो ।’’

उनले निजी विद्यालयलाई व्यवस्थापन गर्न कोही पनि नभएको भन्दै मन्त्रालयमा रहेको जिम्मेवार अधिकारीले जोखिम मोलेर निजी विद्यालयमा देखिएका विकृति हटाउनुपर्नेमा जोड दिए ।

राजनीतिकै कारणले शिक्षाको गुणस्तर आउन नसकेको भन्दै उनले राजनीति गर्नु छ भनेर शिक्षकलाई शिक्षण पेसा त्यागेर राजनीतिकमा आउन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले शिक्षाको गुणस्तर ल्याउनका लागि शिक्षालाई राजनीतिकबाट टाढा राख्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य अमृता थापाले शिक्षाको सृढुढीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै शिक्षामा राजनीति गर्नाले गुणस्तरमा ह्रास आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता राजाराम श्रेष्ठले शिक्षकले राजनीति गरेको कारणले शिक्षाको गुणस्तर ल्याउन नसकेको भन्दै शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरे ।

सङ्घीय समाजवादी फोरमका काठमाडौ सचिव मीरा महर्जन ताम्राकारले शिक्षा क्षेत्र राजनीतिक मुक्त बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा एनसिइका अध्यक्ष कुमार भट्टराईले राजनीतिक दलका प्रतिनिधिलाई शिक्षामा सुशासन र उत्तरदायित्व बढाउनका लागि १२ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा निशुल्क शिक्षाको अधिकार सुनिश्चिताको निमित्त केन्द्र, प्रदेश र स्थानिय तहमा कुल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको कम्तिमा ६ प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने, शिक्षामा बढ्दो विभेदलाई अन्त्य गर्न शिक्षामा बढदै गएको निजीकरणलाई न्यूनीकरण गर्नुपर्ने माग राखिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: