ओकेबाजेद्वारा विद्यालय पोसाक वितरण

पाल्पा, १९ वैशाख । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) ले निस्दी गाउँपालिका–१ सानो गल्धामा रहेको मदन आश्रित आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको छ ।

दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था नाजुक देखेर समाजसेवी ओकेबाजेले विद्यालयमा अध्ययनरत ६३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको हो ।

साथै, उहाँले ८४ जना विद्यार्थीलाई कापी र कलम पनि वितरण गर्नुभएको छ । पाल्पामा रहेर लामो समयसम्म सामाजिक सेवामा काम गर्दै आउनुभएका जापानी नागरिक ओकेबाजेले दुर्गम र विकट क्षेत्रका शैक्षिक, सामाजिक र विकास निर्माण क्षेत्रमा ठूलो आर्थिक रकम सहयोग गर्दै आउनुभएको छ ।

उहाँले झन्डै दुई दशक जतिको समय पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस्