वैशाख २३ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले आफ्ना नेता किम जोङ-उनको हत्याको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।
अमेरिकी गुप्तचर संस्था सिआइएले बायोकेमिकल अर्थात जैविक रसायनिक पदार्थको प्रयोग गरी किम जोङ–उनको हत्याको षड्यन्त्र गरिरहेको उत्तर कोरियाको आरोप छ । उत्तर कोरियाली सुरक्षा मन्त्रालयले सिआइए र दक्षिण कोरियाली समर्थन प्राप्त एक संगठन जैविक रसायनिक पदार्थसहित किममाथि आक्रमणका लागि उत्तर कोरिया प्रवेश गरेको बताएको छ । नेता किमलाई कुनै सार्वजनिक समारोहमा निशाना बनाउने खतरा रहेको पनि मन्त्रालयले औँल्याएको छ ।
उत्तर कोरियाको आरोप प्रति सिआइए र दक्षिण कोरियाले कुनै प्रतिक्रिया दिएका छैनन् । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिका र दक्षिण कोरियासँगको सम्बन्ध बिग्रिरहेका बेला उत्तर कोरियाले पछिल्लो आरोप लगाएको हो ।