धनगढी, जेठ १७ । धनगढी उपमहानगरपालिकाको प्रमुख चयनमा राना थारु समुदायको मतले ठूलो प्रभाव पार्ने भएपछि राजनीतिक दलहरुले यो समुदायमा आफ्नो चुनावी प्रचार प्रसारलाई केन्द्रित गरेका छन् ।
धनगढी उपमहानगरपालिकाभित्र बसोबास गरिरहेका राना थारु यहाँको आदिम बासिन्दा हुन । उनीहरु सबै यहिंकै मतदाता भएका कारण भोट आफ्नो पक्षमा पार्नका लागि दलहरुले राना थारु समुदायमा चुनावी प्रचार प्रसारलाई बढी ध्यान दिएका छन् । यो समुदायको मतले नगर प्रमुख चयनमा निर्णायक भूमिका निर्वाह गर्ने कतिपयको अडकल छ ।
यो उपमहानगरपालिकामा बसोबास गरिरहेका सबै व्यक्ति यहाँको मतदाता होईनन् । धनगढीमै बसिरहेका कतिपयको कैलालीकै अन्य क्षेत्र वा पहाडी जिल्लामा मतदाता नामावली रहेको छ । तर, यहाँ बसोबास गरिरहेका राना थारु भोट हाल्न अन्यत्र नजाने भएका कारणले दलहरुको दृष्टि राना थारु समुदायमा परेको हो ।
धनगढीमा पुरानो बस्तीको रुपमा चिनिएको राना थारु बाहुल्य गाउँ धनगढी, मनहेरा, घुईयाघाट, जुगेडा लगायतमा दलहरुले चुवानी प्रचार प्रसार तीव्र पारेका छन् । जेठ ३१ गते तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन अब आधा महिना बाँकी रहेका बेला राना थारु समुदायका घरको छाना दलहरुका चुनाव चिन्ह अङ्कित झण्डाले रङ्गिएका छन् । एकै घरको छतमा विभिन्न राजनीतिक पार्टीको झण्डा देख्न सकिन्छ ।
प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका भएकोले धनगढीको जित दलहरुको प्रतिष्ठासंग समेत जोडिएको छ । प्रतिष्ठा जोगाउन र प्रभाव देखाउनका लागि दलहरुले राना थारु बस्तीमा दिनहुँ घरदैलो गरिरहेका छन् । दिनैपिच्छे राजनीतिक दलहरु भोट माग्न आउँदा चुनावी रौनक बढेको राना थारु समुदायका व्यक्तिले बताएका छन् । उनीहरुले दलहरु समक्ष आफ्नो अपेक्षा समेत सुनाउन थालेका छन् ।
यो क्षेत्रको आदिमवासी रहे पनि छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत हुन नसक्दा विभिन्न समस्या भोग्दै आएको राना थारुले बताएका छन् । उनीहरुले छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत हुनका लागि राजनीतिक दलहरुले पहल गर्नु पर्नेमा जोड दिएका छन् । अहिलेसम्म साँस्कृतिक रुपमा छुट्टै पहिचान नपाएकाले राजनीतिक, सामाजिक, आर्थिक अधिकारमा आफ्नो समुदाय पछाडि परेको धनगढी गाउँका स्थानीय रामदिन रानाले बताए ।
‘हामीलाई छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत नगरिंदा अड्डा अदालत, सरकारी जागिर लगायतमा हाम्रो समुदायको पहुँच हुन सकेको छैन’, उहाँले भने–‘राजनीतिक दलहरुले हाम्रो यो सवाललाई उठाउनु पर्दछ । हाम्रो सवाल उठाउनलेलाई नै भोट दिन्छौं ।’
यहाँ अन्यको तुलनामा राना थारु समुदाय तुलनात्मक रुपमा पछाडि रहेको देखिन्छ । यो समुदायमा शिक्षा र विकासको अवस्था अझै न्यून रहेको छ । सहरी क्षेत्रमा बसेर पनि अधिकाङ्स परिवार निर्वाहमूखी खेतीमा निर्भर छन् । आफ्नो समुदाय गरिबीको रेखामुनी रहेकाले व्यापार व्यवसायका लागि ऋण सहुलियत, खेती गर्नका लागि सरकारी सिचाइँ सुविधा नेताहरुले गर्नु पर्ने रामलाल रानाले बताए ।
धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ३, ७, ८, ९, ११, १२, १३, १५, १६ मा राना थारुको बसोबास रहेको छ । यहाँ राना थारुको तुलनात्मक रुपमा जनसङ्ख्या केहि बढी रहेकाले नेकपा माओवादी केन्द्रले राना थारु समुदायबाटै रामसमझ रानालाई मेयरको उम्मेदवार बनाएको छ । अन्य पार्टीले यो समुदायबाट वडा अध्यक्षमा उम्मेदवार बनाएका छन् ।
स्थानीय तहको चुनावी रौनक बढ्दै गएको बेला राना थारु समुदायले सबैभन्दा पहिले पहिचान खोजेको स्थानीय नेता समेत रहनु भएका धनीराम रानाले बताउनुभयो । छुट्टै पहिचान भएमात्रै राना थारुको विकास हुने उनको भनाइ छ ।
‘अहिलेसम्म मुलुकमा विभिन्न व्यवस्था परिवर्तन भयो तर राना थारुको अवस्था परिवर्तन हुन सकेन’, उनले भने–‘हामीलाई छुट्टै आदिवासी जनजातिको रुपमा सूचिकृत नगर्दासम्म हाम्रो समुदायको विकास असम्भव छ । यसका साथै राजनीतिक दलहरुले सम्बोधन गर्नु पर्ने थुप्रै मुद्दाहरु छन् ।’
स्थानीय तहको निर्वाचनले सबैतिर विकासको अपेक्षा बढाई रहँदा राना थारुलाई पहिचानको चिन्ता छ । उनीहरुले आफ्नो समुदायको पहिचानसंग विकासको कुरा गाँसिएको बताएका छन् । अहिलेसम्म राना थारु समुदायको कुनै ठाउँमा पहुँच नरहेकाले स्थानीय तहको निर्वाचनसंगै पहिचान सुनिश्चितताको कुरा तड्कारो रुपमा उठाउन आवश्यक रहेको धनगढी गाउँका भलमन्सा सन्तराम रानाले बताए । राप्रपाबाट वडा नम्बर ८ मा अध्यक्षका उम्मेदवार समेत रहनु भएका उहाँले राना तथा कठरिया थारुलाई छुट्टै आदिवासी जनजातिमा सूचिकृत गर्न आवश्यक रहेको उल्लेख गरे ।