यस्तो छ प्रकाश दाहालको वास्तविकता

दिपक चुदाली

नेपाली राजनीतिका खेलाडी र देशकै शीर्ष नेता प्रचण्ड उत्तरार्धमै भएपनि प्रधानमन्त्रीको कुर्सीमा छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड यसपटक जोखिमपूर्ण परीक्षामा होमिए र सफल भए । प्रचण्ड भन्थे, ‘यो मेरा लागि अन्तिम अवसर र चुनौति दुवै हो ।’ परिस्थिति हेर्दा लाग्थ्यो, ‘सर्वहारा वर्गको पार्टी र आन्दोलनको रक्षा एवं विकास प्रचण्डका सामू उभिएको सबैभन्दा ठूलो चुनौति हो ।’ त्यसमाथि संकटमा परेको राष्ट्रलाई निकास दिने प्रयत्न गर्नु उनका लागि ठूलै चूनौति थियो । १० वर्ष अघिका प्रचण्ड र अहिलेका प्रचण्ड तुलना गर्दा लाग्छ, ‘यसपालि प्रचण्डले निकै ठूलो अनुभव हासिल गरे र सफल भए ।
प्रचण्डको यो सफलताका पछाडि उनको आफ्नो विशिष्ट क्षमता मुख्य भएपनि सरकार सञ्चालनका बेला गम्भीर र परिणामूखी काम गर्ने भिजन लिएर सल्लाहकार, सचिवालय र सहयोगीको टिमको निर्माणले पनि विशेष भूमिका निर्वाह गरेको देखिन्छ । कतिपयले सचिवालयको टीम गठन गर्दा केही प्रश्न उठाएपनि यही टीमले उनको मिशनमा सहयोगी बनेर बिना कुनै विवाद, अवरोध उत्प्रेरक भूमिका निर्वाह गरे ।

स्वकीय सचिवको विवाद

प्रचण्डले आफ्ना छोरा प्रकाशलाई स्वकीय सचिव बनाएपछि ‘प्रचण्ड’ र माओवादी फोबिया’बाट ग्रसित व्यक्तिहरु नैतिकता, सभ्यता र न्यूनतम् मर्यादा लत्याएर उनीमाथि आक्रमण गरे । तर प्रकाशको भूमिका यो दश महिनामा कमैले विश्लेषण गरेका छन् । सचिवालयको कुशल व्यवस्थापन, आर्थिक, भौतिक या अन्य कुनै प्रकारको लाभको सोच नलिएर विशुद्धरुपमा प्रचण्डलाई सफल बनाउन उनले खेलेको भूमिका निकै फरक र विशिष्ट थियो । यति कुशल व्यवस्थापन हुँदैनथ्यो भने प्रचण्डलाई जटिलता पक्कै पनि थपिन्थ्यो ।

दिपक चुदाली

अहिले आएर प्रकाशको ईच्छाविपरित गृह मन्त्रालयले दिएको पदकको विषयलाई लिएर फेरि उनीमाथि आक्रमण सुरु गरिएको छ । कतिपय समर्थकहरुलाई पनि लाग्छ, ‘प्रचण्डले नै प्रकाशलाई नै पदक दिने निर्णय गरेका हुन् ।’ तर, यसमा कत्ति सत्यता र दम छैन । प्रकाश मात्र होइन, सचिवालयका अर्का जिम्मेवार सदस्य गोविन्द आचार्य र माओवादी निकट प्रेस सेन्टरका अध्यक्षलगायतका सञ्चारकर्मीलाई समेत आफूलाई पदक दिन लागेको कुरा थाहा थिएन ।

पुत्रको भूमिकामा सीमित गरिएका प्रकाश

प्रकाश दाहाललाई उनका बिरोधीहरुले “प्रचण्ड पुत्र”को रुपमा सीमित गरेका छन् । तर यो मात्रै सत्य होइन । उनी प्रचण्ड र सीता दाहालका छोरा भएको जैविकीय सत्य रहेपनि उनी राजनीतिक प्राणीसमेत हुन भन्ने कुरा उनको आलोचना गर्दा बिर्सिइन्छ । पढ्ने उमेरमा, खेल्ने उमेरमा, एउटा शक्तिशाली नेताको छोराले पाउने सुविधा या गर्ने व्यवहार भन्दा फरक उनले हिजो र आज पार्टी र नेतृत्वका हरेक पाइलामा आफूलाई समर्पित गरेको तथ्य बिर्सिन मिल्दैन ।

याे पनि पढ्नुस  भव्य किसिमले मनाईंदैछ प्रकाश दाहालकाे जन्मदिन, सम्मान र सहयाेगकाे समेत कार्यक्रम

कतिपयले भन्छन्– ‘प्रचण्ड र प्रकाशहरु काठमाडौंमा बिलासी जीवन बिताइरहेका छन् ।’ तर, के उनीहरुले प्रचण्ड र प्रकाशहरुले भोगेका कहालीलाग्दा विगत बुझेका होलान् ? अहिले अन्य नेताका छोराहरु पीआर लिएर विदेशमा रमाईरहेको बेला प्रकाशहरुले राजनीतिमा सक्रिय हुनु कुन अर्थमा गलत हो ? बाबुराम भट्टराईले आफ्नी छोरीलाई युद्धकालमा समेत पढाउन पठाएको बेला प्रचण्डले प्रकाशलाई भारत, चीन या अन्य देशमा उच्चशिक्षाका लागि पठाउन सक्दैनथे ?

प्रकाश दाहालले यो पंक्तिकारलाई भने अनुसार, उनीमा पनि औपचारिक डिग्री हासिल गर्ने उदत्त चाहना थियो । तर, परिवारिक बाध्यता र जनताप्रतिको जिम्मेवारीले उनलाई युद्ध मोर्चामा डो¥यायो । हाइस्कूल पास गर्न नपाउँदै पूर्ण भूमिगत हुनुपर्यो उनले । तैपनि उनले इन्टरमिडियटमा भर्ना गर्न सफल भए । तर युद्दको रापले उनलाई अन्य नेताका छोराछोरीजस्तो पिएचडी झुण्ड्याउने बाटोतर्फ जाने अनुमति दिएन । बरु उनी होमीय जनयुद्धमा । युद्दकालमा हेडक्वार्टरको सूचना संयन्त्रमा गम्भीर र जटिल जिम्मेवारी सम्हाले । उनी भन्छन्– मैले कुन चाहिँ नेताको गाडी चलाएन होला र ? यसरी हेर्दा उनको परिचय प्रचण्ड पुत्र सम्म सीमित देखिन्न । बरु त्यो भन्दा पर उनी अरुजस्तै माओवादी युद्धमा होमिएका एक युवा हुन, उनलाई अरुजस्तै राजनीतिक जिम्मेवारीको दावी गर्ने अधिकार छ । यद्यपी त्यसका लागि उनले कुनै माग भने गरेको देखिन्न ।

बिहाको विवाद

यद्धकै सामिप्यतामा प्रकाश दाहाल र प्रभा बोगटीबीच दाम्पात्य जीवन गाँसियो । तर, जीवनको चक्रमा दुवैका सोंच र आकांक्षामा देखिएको अन्तरले उनीहरु अलग भए । यो कुनै छलछाम, षड्यन्त्र र दवावको परिणाम थिएन । बरु, दुवैको हार्दिक समझदारीकै आधारमा उनीहरु अलग भएका थिए ।
प्रभासँगको सम्बन्धबाट अलग भएपछि प्रकाश सिर्जना त्रिपाठीसँग बैवाहिक जीवनमा बाँधिनु बिल्कूलै स्वाभाविक थियो । तर, कतिपय कारणहरुले उनीहरुको जीवन पनि हार्दिकतापूर्वक अगाडि जान सकेन । प्रकाश दाहालले मात्तिएर सिर्जनासँग सम्बन्ध विच्छेद गरेका थिएनन् । बरु यो एउटा बाध्यात्मक अवस्था थियो भन्ने कुरा कुनै दिन सार्वजकि हुने छ ।

यही क्रममा प्रकाशको बिनासँग सम्बन्ध जोडियो । यो प्रकाशको जीवनमा एउटा ठूलो प्रक्रियागत भूल थियो । राष्ट्र र जनताप्रति समर्पित भएर जब प्रकाश अगाडि बढ्न खोज्छन्, विरोधीहरु प्रकाशको मनोबल गिराउन अनेकन् हत्कण्डा अपनाउँछन् । त्यो बेला प्रकाश गम्भीर हुँदै भन्छन्, ‘सजाय गल्तीको स्तरअनुसार हुनुपर्छ, जीवनको एउटा मोडमा भएको गल्तीको आत्मसमीक्षा पनि गर्नै नपाउने यो कस्तो विरोध हो ? भनिन्छ, ‘एउटा अपराधीलाई पनि उसले गरेको अपराधमा एकपटकमा एउटा मात्र मुद्धा लाग्छ । तर, यहाँ यस्तो भइरहेको छ, प्रकाशले जब आत्मसमीक्षा गर्छन्, विरोधीहरु कमजोरी ठान्छन् । जीवनमा अगाडि बढ्ने संकल्प गर्छन्, तब उनको मृत्युमा आफ्नो जीवन देख्नेहरु चार हात उफ्रिएर उनको अन्धविरोध गर्छन्, मानौं उनीहरुको जन्म नै प्रचण्ड र प्रकाश दाहालको विरोधकै लागि भएको थियो ।

याे पनि पढ्नुस  स्व.प्रकाश र खुसीरामको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

अहिले प्रकाश र सिर्जना सँगै छैनन् । सिर्जनाले न्याय पाउनुपर्छ भन्ने आवाज उठेको पाइन्छ । यो कुरा गर्दा सिर्जनामाथि अन्याय गरेर प्रकाशको पक्षमा उभिन सकिन्नँ । तर, के प्रचण्ड र प्रकाशले समस्या समाधानका लागि आजसम्म कुनै पहल नगरेका होलान् ? यतातिर विरोधीहरुले बुझेर पनि बुझ पचाइरहेका छन् । प्रकाश र उनको परिवारले सिर्जनासँग न्यायपूर्ण र सम्मानजनक तरिकाले समस्या समाधान गर्न दर्जनौंपटक प्रयास नगरेको होइन । तर, ती कुरा सार्वजनिक हुँदैनन् । प्रचण्ड स्वयम्ले सिर्जना र उनको परिवारसँग कतिपल्ट कुरा गरे होलान्, ती कुरा बाहिर आउँदैनन् । विरोधीहरुले यसलाई आफ्नो फस्टाउँदो खेतीको रुपमा उपयोग गर्ने कुनियत राख्दा प्रकाश, सिर्जना दुवै आजपर्यन्त यातनाको शिकार भइरहेका छन् ।

प्रकाशको तेस्रो बिहे चाहना थियो वा जीवनको यात्रा अगाडि बढ्दै जाँदा निम्तिएको बाध्यता र प्राविधिक भूल ? यसको छिनोफानो भविष्यले नै गर्नेछ । तर, उनले नेपालको राजनीति र परिवर्तनको यात्रामा गरेको योगदान कम छैन । गणतन्त्रको विरोध गर्नेहरु अहिले राष्ट्र प्रमूख छन्, सरकार प्रमूख भइसकेका छन्, मन्त्री खानेहरुको त कुनै हिसाब नै छैन । एमाले, कांग्रेसका दर्जनौं नेताहरुका घरमा अहिले पनि ‘जोडा श्रीमति’ मात्रै छैनन्, अघोषित गोपिनीहरुको पनि ठूलै जत्था भएको तथ्य आँखैअगाडि छ । घरमा आधा दर्जन श्रीमति राखेर पालैपालो सहबास गर्ने नेताहरुले दर्जनौंपटक तक्मा भिरिसकेका छन् । उनीहरुको तक्माबारे कसैले प्रश्न उठायो कि त्यसलाई राष्ट्रवादी दौराको फेरोले छोपिन्छ । प्रकाश दाहाल, जो परिवर्तनकै यात्रामा छन्, नेपालको समृद्धि र विकासको प्रचण्ड सपनामा सारथिकै भूमिकामा छन्, उनीमाथि आक्रमण गरेर उनीहरुले आफू बहादुर भएको आत्मरति लिँदैछन् । तर, उनीहरुको दुष्प्रचार, व्यक्तिगत जीवन र निष्ठामाथिको अत्याचारको पर्दा एक दिन च्यातिने नै छ ।

प्रकाशबारे निर्लज्ज टिप्पणी गर्नेहरुले प्रकाशको विशेषता र क्षमताको यथार्थ बुझ्नैपर्छ । प्रकाश प्रचण्डका छोरा भएकै कारण माओवादी केन्द्रका नेता भएका होइनन् । बरु, प्रकाशभन्दा जुनियर नेताहरु पनि प्रकाशभन्दा माथिल्लो भूमिका छन् । बाहिरबाट हेर्दा लाग्छ, ‘प्रचण्डले छोरालाई मात्रै अवसर दिए ।’ तर, प्रकाशको अन्तरमनले के भन्ला रु बुवाको प्रतिष्ठा र मर्यादाका लागि कतिञ्जेल उनी खुम्चिइरहनुपर्ने हो ? यसरी हेर्दा प्रचारमा त प्रकाशले प्रचण्ड पुत्र भएका कारण चर्चामा छन् । उनी प्रचण्डको छोरा नभएको भए यसभन्दा माथिल्लो जिम्मेवारीमा पुग्न सक्थे । तर, बुवामाथि आउनसक्ने नकारात्मक टिप्पणीबाट बँच्न उनी ‘मरिच’ बन्न तयार भएका छन् र त्यसको मार खेपिरहेका छन् ।

याे पनि पढ्नुस  जनसेवाश्री फिर्ता गर्दै प्रकाश दाहालले भने– गणतन्त्रका लागि बलिदान गर्नेहरुलाई पदक दिइयोस्

खुल्ला हृदय, हक्की स्वभाव

प्रकाश खुल्ला हृदयका छन् । उनी आफूलाई लागेको कुरा फ्याट्ट बोल्छन् । सबैलाई साथी ठान्छन्, देशको सर्वोच्च नेताको छोरा भएर पनि उनीमा कुनै घमण्ड छैन, उनी सामान्य मानिसलाई पनि आफ्नै दाजुभाइजस्तै व्यवहार गर्छन् । उनीमा ‘देखाउने र चपाउने दाँत’ छैन । जे देख्छन्, बोल्छन् । तर, मनमा पाप र कसैप्रति पूर्वाग्रह राख्दैनन् । कसैका कमजोरी सजिलै औल्याउँछन् र सजिलै क्षमा दिने र सहकार्य गर्ने हैसियत राख्छन् । आफूलाई गृह मन्त्रालयले सिफारिस गरेपछि नलिने घोषणा गरेका प्रकाशको कदमको सम्मान गर्नुपर्ने हो । तर, भ्रमको खेती गर्नेहरुले उनीमाथि सौतनी व्यवहार गरिरहेका छन्, जुन राजनीतिक दृष्टिमा निकृष्ट मात्र नभएर आपराधिक कार्य पनि हो ।

रुप र अन्तर्वस्तुमा अन्तरसम्बन्ध अवश्य हुन्छ । तर, प्रचार र यथार्थको बीचमा धेरै ठूलो खाडल पर्ने गरेको छ । प्रचण्ड र प्रकाश सिर्जनालाई न्याय र स्वाभिमान दिन चाहन्छन् । तर, सिर्जनालाई कृतिम ममता देखाएर प्रकाशको विरोध गर्नेहरु भ्रमको खेती गरिरहेका छन् । सोध्न मन लाग्छ– ‘प्रकाशमाथि औला उठाउनेहरुले र्सिजनालाई साँच्चै न्याय दिन चाहन्छन् ?’ कि सिर्जनालाई उचालेर प्रकाशमाथि प्रहार गर्ने र अन्तिममा सिर्जनालाई पनि रद्दिमा मिल्काउने षड्यन्त्रको प्रपञ्च रच्दैछन् ? ढिलो वा चाडो परिवार भिडाएर राजनीति गर्नेहरुको पर्दा च्यातिने छ ।

प्रकाशमा स्वाभिमानी विशेषता छ । उनी कसैसामू झुक्दैनन् । सबैसँग हार्दिक सम्बन्ध पनि सँगै बनाउँछन् । समयको व्यवस्थापनमा उनी निकै सिपालु र छरितो छन् । प्रशासनिक र व्यवस्थापकीय काममा उनको छरितोपनले प्रधानमन्त्रीको समयको सदुपयोग मात्र हुँदैन, नयाँ सोंचका लागि प्रेरणा पनि मिल्छ । उनको अर्को विशेषता प्रकाश मिडियामैत्री छन् । सञ्चार माध्यममा आउने सानादेखि ठूलासम्म सबै घटना र सूचनामा उनी अपडेट हुन्छन् । सामान्य नागरिकका गुनासालाई पनि उत्तिकै प्राथमिकता दिन्छन् ।

उनको साँचो बोल्ने विशेषता कतिलाई अप्रिय लाग्छ । तर, जब निस्वार्थ भावले प्रकाशसँग सहकार्य गर्छ, यो व्यक्ति उनीबाट प्रभावित भएरै छोड्छ । उनको विरोध गर्नेहरुले कुनै पनि त्यस्तो दृष्टान्त पेश गर्न सक्दैनन्, जसले अनुकूल र प्रतिकूल दुवै परिस्थितिमा आफूलाई देश र जनताको पक्षमा समर्पित गरेको होस् । यिनै विशेषताका कारण उनी प्रधानमन्त्रीको सचिवालयमा छानिए र प्रचण्डलाई सफल बनाउन अहोरात्र खटे । यो कुरा बुझ्ने कि नबुझ्ने ? कि एउटा बिहाको कुरालाई बुझ्दै नबुझि त्यसलाई मात्रै हतियार बनाएर प्रकाशको आफ्नो राजनीतिक योगदानको अवमूल्यन गरेर उनलाई प्रचण्ड पुत्रको बिल्ला मात्रै भिराइराख्ने ?

लेखक प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत् छन् । 

कमेन्ट गर्नुहोस्