जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय

काठमाडौं, १९ जेठ । रुकुमको बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले जनयुद्धका क्रममा सञ्चालित माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय गरेको छ । बैठकले त्यतिबेला गरिएका घरजग्गा रजिस्ट्रेसनका कारण स्थानीयले दुःख पाएको भन्दै त्यसलाई मान्यता दिन आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिकामा त्यस्ता लिखत कति र कस्तो अवस्थामा छन् । तिनको लगत संकलन गरी विश्लेषणपश्चात आवश्यक कानुन, नीति र विधि बनाएर टुंग्याउने निर्णय भएको बताए ।

साबिकका पीपल, बाँफिकोट र मग्मा गाविसका ७ वडा, दुली गाविसका ३ वडा तथा झुला गाविस गाभेर बाँफिकोट गाउँपालिका बनाइएको छ । गाउँपालिकाभरिबाट १ सय ६७ कित्ता घरजग्गा त्यो बेला किनबेच भएको थियो ।

‘किनबेच भएको १ सय ६७ कित्तामध्ये केही समाधान भइसकेको जानकारीमा आएको छ,’ अध्यक्ष केसीले भने, ‘बाँकी रहेको सबैलाई आवश्यक कानुन निर्माण गरी हल गर्ने गरी सबै सहमत भएका छौं ।’

कमेन्ट गर्नुहोस्