देउवा नेतृत्व सरकारको गृहमन्त्री माअोवादीबाट को हुने ? शर्मा कि महरा

काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्रीमा कसले नेतृत्व गर्ने भन्ने कुरामा हानाथाप भइरहेको छ । विशेषगरि राम्रा काम गरेको यसअघिका मन्त्रीलाई नेतृत्व गरेर सरकारमा जाने माओवादी केन्द्रको तयारी छ ।

अहिले माओवादीभित्र हालका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अर्थमन्त्री कृष्णबहादुर महरामध्ये एकले नेतृत्व गरेर सरकारमा सहभागी हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । माओवादीका एकाथरी नेताले जनार्दनलाई नेतृत्व गरेर पठाउनुपर्छ भन्ने तर्क गरेका छन् भने अर्काथरीले महराको नेतृत्वमा सरकारमा जानुपर्ने बताएका छ ।

तर,  माओवादी नेता टोपबहादुर रायमाझी पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने दाबी गर्दै आएका छन् । हाल दुबै मन्त्रीले राम्रा काम गरेकाले कसको नेतृत्वमा सरकारमा जाने भन्ने माओवादीले टुङ्ग्याउन सकेको छैन ।

माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दनको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएका छन् । अहिलेका उर्जामन्त्री जनार्दनले लोडसेडिङलगायतका देखिने काम गरेकाले उनैको नेतृत्वमा जानुपर्ने प्रचण्डको तर्क छ ।

तर माओवादी नेताहरु यतिवेला अन्यौलमा छन् । यसअघि मन्त्री भएकालाई फेरि मन्त्री बनाउने कि नबनाउने भन्ने बहसको विषय छ । प्रचण्ड प्रधानमन्त्री हुने ताका माओवादीले यसअघि सरकारमा सहभागि भएकालाई मन्त्री बन्न नपाउने नियम बनाएको थियो । माओवादीलाई अहिले त्यहि नियम निल्नु न ओकल्नुको विषय बनेको छ ।

अघिल्लो पटकको नियमलाई भंग गरेर यो पटक अघिल्लो कार्यकालमा मन्त्री हुनेलाई पनि मन्त्री बन्न पाउने माओवादीभित्र छलफल हुन थालेको छ । अघिल्लो नियमलाई खारेज गर्नुपर्ने प्रचण्डलाई दबाब आउन थालेको छ । यदि उक्त नियम नै लागू गरिएको खण्डमा जनार्दन र कृष्णबहादुर महरा दुबै मन्त्री हुनबाट बञ्चित हुने निश्चित छ ।

पूर्व सहमतिअनुसार कांग्रेसले अर्थमन्त्रालय र माओवादीले गृहमन्त्रालय लिने बताइएको छ । अन्य मन्त्रालय भागबण्डा गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्