वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने: संस्कृतिविद् जोशी

काठमाडौँ, जेठ २२ । संस्कृतिविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएको छ ।

विश्व वातावरण दिवस–२०१७ को अवसरमा सदर चिडियाखानाले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले प्रकृति र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण गरिनुपर्नेमा उहाँको जोड छ ।

जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले वातावरण सफा राख्नु सबैको साझा कर्तव्य रहेको बताउँदै वातावरणको महत्व, आवश्यकता र संरक्षणबारे विद्यालयस्तरको शिक्षामा नै समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञावलीले सुन्दर र सफा वातावरण निर्माणका लागि ध्यान दिनु आवश्यक रहेको भन्दै प्रत्येक व्यक्ति स्वयम्ले यसबारे सोच्नुपर्ने बताउनुभयो ।

सदर चिडियाखानाको प्रमुख रचना शाहले जीवजन्तु पनि वातावरण सुन्दर बनाउने प्रमुख पक्ष रहेकाले तिनीहरुको संरक्षण गर्न पनि अत्यन्तै आवश्यक रहेको धारण राख्नुभयो ।

‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ नामक कार्यक्रममा वर्षभरि चिडियाखानाले आयोजना गरेको संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, वातावरण संरक्षणबारे नाटक प्रस्तुत र जन्तुलाई खाना खुवाउने तालिममा सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्