२६ वर्षमै तहल्का मच्याउँदै युवा व्यापारी भण्डारी

काठमाडौं । अहिले धेरैजसो युवाको सपना विदेश छ । घरपरिवार पनि छोराको नागरिकता, पासपोर्ट बनाइदिएर उसलाई विदेश पठाउन चाहन्छ । त्यसको एकमात्र कारण हो हाम्रो देशमा रहेको रोजगारीको समस्या । तर, मेहनत र लगनका साथ काम गर्ने हो भने देशमै पनि केही गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण छन् हामीसामू । त्यसकै एक उदाहरण हुन्, युवा व्यवसायी केपी भण्डारी ।

०४८ सालमा दाङको विकट क्षेत्र रामपुर–८ मा जन्मिएका भण्डारीले २६ वर्षकै उमेरमा सफल व्यवसायीको रुपमा आफूलाई चिनाएका छन् । विभिन्न दुःख, कष्ट र समस्याबाट गुज्रिए तापनि साहस र हौसलाका साथ अघि बढेका भण्डारी आज पश्चिम नेपालमा आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएका छन् ।

सामान्य खेती किसानी गरेर जिविकोपार्जन गर्ने परिवारमा जन्मिएका भण्डारीको बाल्यकाल कम कष्टपरक थिएन । घास–दाउरा गर्नुपर्ने, गोठालो जानुपर्ने, खेती–किसानीमा पनि परिवारका सदस्यलाई साथ दिनुपर्ने । बिहानै चार बजे उठ्नुपर्ने बाध्यता । स्कुलको पढाइ पनि त्यति राम्रोसँग नचलेको अवस्था । तर, पनि सानैदेखि उनी प्रतिभासाली थिए । नाटक, अभिनय र हाँस्य विद्यामा उनको विषेश लगाव थियो । र, थुप्रै प्रतियोगितामा भाग लिएर पुरस्कारसमेत जितेका छन् उनले । भन्छन्, ‘हालसम्म करिब तीन दर्जन नाटकमा भाग लिएको छु । थुप्रै पुरस्कार पनि हात पारेँ । अभिनयमा मेरो सानैदेखि रुची थियो ।’
अभिनयमा रुची भएका भण्डारी कसरी व्यवसायी बने त ? उनको जीवनको यो पाटो पनि निकै रोचक छ ।

एसएलसीपछि उनी दाइसँगै दाङको लमहीमा बस्न थाले । कलेज पढ्ने र दाइलाई काममा सघाउने क्रम चल्न थाल्यो । उनी साइकलमै दिनमा ३० किलोमिटर कुदेर पैसा उठाउन जान्थे । त्यतिमात्र कहाँ हो र व्यापार कम हुँदा ठेलामा चिनि, तेल, चिउरा राखेर डेलिभरी गर्न घर–घरमा पुग्थे उनी । हुने विरुवाको चिल्लो पात भनेझै उनको त्यो संघर्ष र मेहनतले आज उनलाई सफल बनाएको छ । कुनै दिन साइकलको हेण्डिल सामाउने हातले आज गाडिको स्टेरिङ समाउँछ भने पैदल मार्ने खुट्टाले गिएर दबाउँछ । मासिक लाखौँको व्यापार हुन्छ उनको व्यवसायमा । अनि त्यसबाट आम्दानी पनि उत्तिकै । तर, यो सब एकाएक भएको होइन ।
दाइसँगै बसेर पढ्दा उनले पत्रकारिता क्षेत्रमा पनि हात हाले । रेडियो र पत्रपत्रिकामा काम गर्न थाले । रेडियोका लागि दैनिक चार घण्टा र पत्रिकाका लागि दौडधूप गरे । रेडियोमा उनी कार्यक्रम चलाउँथे भने साप्ताहिक र पाक्षिक पत्रिकाको व्यवस्थापक थिए । यो सँगै पढाइ पनि निरन्तर चलिरहेको थियो । भण्डारी विगत सम्झदै भन्छन्, ‘पढ्ने समय नै हुदैनथ्यो । मैले दिनमा करिब ४ घण्टा मात्र सुतेर धेरै संघर्ष गरेको छु । संघर्ष नगरी मानिस सफल कसरी हुन सक्छ र ?’

यसैक्रममा उनले व्यापार व्यवसायलाई विस्तारै बुझ्दै गए । प्लस टु पछि थप मेहनतका साथ दाइले संचालन गरेको हार्डवेयरमा काम गर्न थाले । उनले आफूले सकेजति इफोर्ट लगाए । र, त्यसको प्रतिफल पनि आयो । दिनानुदिन राम्रै व्यापार हुन थाल्यो । आम्दानी पनि राम्रै हुँदै गयो । काममा भण्डारीले आफ्नो क्रियसन देखाए । र, दाइलाई प्रभावित गरे । त्यसपछि सुरु भयो उनको जीवनको फरक यात्रा ।
उनी दाङबाट एकाएक नेपालगञ्ज हानिए । केही गर्ने सोचका साथ । र, त्यहाँ खोले हार्डवेयर पसल । नयाँ ठाउँ, नयाँ परिवेश, सानो उमेर । तर, यसले उनलाई रोकेन । उनले छाटो समयमै आफ्नो व्यापार, व्यवसायलाई पश्चिम नेपालमा विस्तार गर्न सफल भए । र, आज सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । भन्छन्, ‘समाजसेवा गर्न पाउँदा छुट्टै आनन्द आउँछ । कमाएको पैसाको केही रकम वार्षिक रुपमा अनुदान तथा सहयोगमा मै खर्च गर्ने गरेको छु ।’

उनले हाल कृषि क्षेत्रा विशेष सहयोग पुर्याउने उद्धेश्यले आफ्नै अध्यक्षतामा बाँकेमा एकता कृषि तथा पशुपालन केन्द्र संचालनमा ल्याएका छन् । उनी यतिमा मात्र सीमित छैनन् । आफूलाई मध्यपश्चिमाञ्चलमा नै परिचित गराउने कामसमेत गरेका छन् उनले । सिनेमा, मनोरञ्जन र समाजमा रहेका प्रतिभालाई अगाडि ल्याउने उद्धेश्यले ग्लोवल सिनेमा अटोग्राफी प्रालीसमेत संचालन गरेका छन् । आफ्नै विशेष पहलमा यसै संस्थामार्फ नयाँ वर्षकोे अवसरमा राष्ट्रिय कलाकारको उपस्थितिमा नेपालगञ्जमै सांगीतिक कार्यक्रमसमेत आयोजना गरे उनले ।
हाल हार्डवेयर्स सम्बन्धी सामग्रीको व्यापारमा पश्चिम नेपालमा राम्रै स्थान छ उनको सम्पनीको । गणपति हार्डवेयर्स भनेपछि नचिन्ने कमै होलान् । त्यसो त एचडिपी र पिसियु पाइपको फ्याक्ट्रीसमेत उनले संचालन गरेका छन्, नेपालगंजमा । भण्डारी भन्छन्, ‘मनमा केही गर्छू भन्ने भावना, सफल हुन्छु भन्ने विश्वास र त्यसका लागि मेहनत गर्ने हो भने हामीले धेरै गर्न सक्छौँ । विदेश गएर श्रम गर्ने, पसिना बगाउने भन्दा पनि हरेक युवाले देशमै कसरी योगदान गर्न सकिन्छ भन्ने सोच्ने बेला आएको छ ।’ उनले आफूमात्र नभएर आफूजस्ता सयौँ युवालाई रोगजारीसमेत दिएका छन् । गरीब, बाबुआमा गुमाएका, दुखी परिवारका व्यक्तिलाई काममा राखेका छन् ।
आफ्नै मेहेनतले अहिले मासिक १० लाखसम्म आम्दानी गरिरहेका भण्डारी आँट र मेहनत गर्न कहिल्यै छाड्न नहुने बताउँछन् । नेपालगंजमा व्यवसाय संचालनमा ल्याएको करिब ४ वर्षमा नै पश्चिम नेपालका विभिन्न जिल्लामा उनको कम्पनीका सामान निर्यात हुन्छन् । धनगढीमा समेत उनले ब्रान्च खोलिसकेका छन् । हाल उनलाई पैसाको कुनै कमी छैन । हिँड्नलाई आफ्नै कार छ ।

नेतादेखि ठूलावडा मान्छेसँग संगत छ । कहिलेकाहिँ विदेश पनि जाने–आउने गर्छन् । २६ वर्षको उमेरमा नै सफल व्यापारीको रुपमा स्थापित भण्डारी धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छन् । ‘सामाजिक कार्य सँगै देश विकासमा योगदान पुर्याउने धोको छ । सबैले आफ्नो ठाउँबाट सकेको गर्ने हो । मैले आफूले निभाउनुपर्ने भूमिका निभाउने छ’, भन्छन्, ‘राम्रो काम गरेर देश तथा विदेशमा चिनिन र युवाहरुका लागि प्रेरणाको स्रोत बन्न चाहन्छु ।’ उनी आफू सफल हुनुमा परिवारको साथ र सहयोग पनि महत्वपूर्ण पाटो रहेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्