आयोगका सचिव गोपीनाथ मैनालीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन मतदाता स्वयंसेवकलाई घरघरमा पुगेको प्रमाण ल्याउन निर्देशन दिइएको बताए । ‘मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले मतदाता स्वयंसेवक कार्यकर्तालाई घरघरमा पुगेको प्रमाण ल्याउन भनिएको हो, उहाँहरूले निर्वाचन शिक्षा दिन घरमै पुगेको विवरण स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु हुन्छ,’ सचिव मैनालीले राजधानीसँग भने ।

दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ मतदाता सहभागी हुँदै छन् । निर्वाचनका लागि ६ हजार ७ सय १८ स्थलमा ११ हजार ९ सय ३१ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ११ हजार ९ सय ३१ मतदान केन्द्रमा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन शिक्षा कार्यकर्ता खटाइसकेको छ । एक केन्द्रमा एकजनाका दरले शिक्षा कार्यकर्ता परिचालित भइसकेका छन् । उनीहरूले मतदाताका घरघरमा पुगेर आफू गएको घरको घरमुलीको नाम र मतदाता संख्यासहितको टिपोट गरेर हस्ताक्षरसहितको प्रमाण स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ वटै स्थानीय तहमा निर्वाचनका लागि शिक्षा कार्यकर्ता खटाइसकिएको र कामसमेत धमाधम भइरहेको बताए । ‘मतदाता शिक्षाका लागि प्रत्येक घरमा पुग्ने गरी स्वयंसेवक खटाइएको छ, पहिलो चरणभन्दा दोस्रो चरणमा मतदाता शिक्षा थप प्रभावकारी हुन्छ भन्ने आयोगको विश्वास हो,’ प्रवक्ता शर्माले भने ।

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (नवलपरासी र रुकुमका केही भाग समेत) मा १४ असारमा निर्वाचन हुँदै छ ।