गृहमन्त्रीकाे निरीक्षणपछि मातहत निकायलाई सशस्त्रकाे पत्र

काठमाडौं, २८ जेठ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले संगठनमा देखिएका समस्या र चुनौती पहिचान गरी तीन दिनभित्र पठाउन मातहतका विभागलाई पत्राचार गरेको छ ।  नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी मुख्यालय निरीक्षण गरेको भोलिपल्ट शुक्रबार सशस्त्रले मातहत निकायलाई पत्राचार गरेको राजधानीमा खबर छ ।

 निरीक्षणका क्रममा गृहमन्त्री शर्माले संगठनभित्रका समस्या समाधानका लागि कानुनी र व्यावहारिक चुनौती भए पहिचान गरी तत्काल गृह मन्त्रालयलाई पठाउन निर्देशन दिएका थिए । सोही निर्देशनबमोजिम सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले मातहत निकायलाई पत्राचार गरेको हो । पत्रमा संगठनभित्र रहेका समस्या, चुनौती र समाधानसहित राय पठाउन भनिएको छ । सो निर्देशनबमोजिम सशस्त्रका सबै मातहत विभागले आज (आइतबार) सचिवालयमा त्यसको जवाफ पठाइसक्नु पर्नेछ ।

महानिरीक्षकको सचिवालयले ६ वटा मुख्य शीर्षकमा ३६ वटा उपशीर्षक राखेर राय माग गरेको हो । जसअनुसार प्रशासन सम्बन्धमा सरुवा, बढुवा, कमान्ड, काज, कल्याणकारी कार्य, बिदा आउट र जनशक्ति व्यवस्थापनका विषय उठाइएका छन् । यसैगरी, आन्तरिक व्यवस्थापनतर्फ रासन, क्यान्टिन, क्वार्टर मास्टरलगायत विषय उठाइएको छ । एपीएफ अस्पताल र एपीएफ स्कुल सञ्चालन सम्बन्धमा कर्मचारीको उत्प्रेरणा तथा संघीयतामा सशस्त्र प्रहरीको संरचना कस्तो हुने र यसमा देखिएका समस्या र चुनौती केके छन् भनेर राय मागिएको छ ।

यसैगरी कार्यसम्बन्धी विषयमा सशस्त्र प्रहरी परिचालनमा रहेका अस्पष्टता र द्विविधा, आवश्यक हातहतियार तथा गोलीगठ्ठा र विस्फोटक पदार्थ खरिद, व्यवस्थापनतर्फ सशस्त्र प्रहरी परिचालनका नीतिगत तथा कानुनी जटिलता, परिचालनका क्रममा देखिएका समस्या र विपत् व्यवस्थापनका नीतिगत व्यावहारिक समस्या र साधनस्रोत तथा अपर्याप्तताको सम्बन्धमा राय मागिएको छ ।

 

आर्थिक प्रशासनतर्फ तलब भत्तामा एकरूपता, बजेट विनियोजन, रासन रकम, बेरुजु फस्र्योट, अनियमितता नियन्त्रण, पारदर्शिता, खरिद प्रक्रियालगायत विषयबारे सोधिएको छ ।

 

कमेन्ट गर्नुहोस्