स्थानीय तह निर्वाचन: नमुना शहर सबै उम्मेदवारको ‘एजेण्डा’ !

लोकेश धामी

कैलाली । प्रदेश नम्बर सातको प्रमुख व्यापारिक केन्द्र र एकमात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । राजनीतिक रुपमा निकै अर्थ राख्ने धनगढीको मेयर कसले जित्ला भन्ने चर्चाले चर्को गर्मीको वातावरण अझै तातेको महसुस हुन्छ । निर्वाचन आउन करिब साढे दुई हप्ता बाँकी रहँदा ठूला सबै दलले मेयर र उपमेयरको उम्मेदवार घोषणा गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन् । निकै रस्साकस्सीका बीच शनिबारमात्र काँग्रेसले उम्मेदवारको औपचारिक घोषणा गरेपछि धनगढीमा कसले जित्छ भन्ने चर्चा र आँकलन शुरु भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने चर्चा पनि काँग्रेसको उम्मेदवारी घोषणासंगै सेलाएको छ र दलहरु आआफ्ना चुनावी कार्यक्रमहरुमा व्यस्त छन् । बिहानदेखि रातिसम्म चुनाव लक्षित कार्यक्रमहरु भईरहेका छन् ।

उम्मेदवार र उम्मेदवारका योजना नभई पार्टी हेर्ने प्रवृति भन्दा योग्य र सक्षम नेतृत्व चुन्नुपर्ने चर्चा मतदातामा रहँदा अहिले धनगढीलाई नमुना शहरको रुपमा विकास गर्ने सबैजसो उम्मेदवारहरुको साझा एजेण्डाजस्तै बनेको छ । उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी घोषणा गरेका सबैजसो उम्मेदवारहरुले धनगढीलाई नमुना शहर बनाउने एजेण्डा अघि सारेका छन् । उम्मेदवारहरुका प्रतिवद्धता पत्रमा योजनावद्ध विकासमार्फत धनगढीलाई प्रदेश नम्बर सात र देशकै नमुना शहरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ र उम्मेदवारहरु मतदातामाझ धनगढीको समुन्नत विकासमार्फत नमुना शहर बनाउने प्रतिवद्धता गरिरहेका छन् । नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार नृपबहादुर ओडले धनगढीलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । धनगढीको विकासका थुपै्र संभावना र श्रोतहरु रहेको उल्लेख गर्दै सही नेतृत्व चयन हुन सके यसलाई नमुना शहर बनाउन सकिने बताए ।
यहाँको श्रोत र केन्द्रबाट आउने बजेटको सदुपयोग तथा हालै लागू भएका ठूला योजनाहरुको सफलतापूर्वक कार्यान्वयन गर्न सके विकासका दृष्ट्रिले धनगढी नमुना शहर बन्ने उनको भनाई छ । आफू मेयरमा विजयी भए एसियाली विकास बैंकको सहयोगमा लागू भएको क्षेत्रीय सहरी विकास आयोजना र नेपाल सरकारले लागू गरेको सघन शहरी विकास कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिने उल्लेख गर्दै उनले पूर्वाधार विकासले सम्पन्न शहरको रुपमा विकास गर्ने आफ्नो योजना रहेको वडले बताए ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार दुर्गाप्रसाद जोशीले धनगढीको गुरुयोजनासहितको विकास आफ्नो प्राथमिकतामा रहने बताए । उनले आफू मेयरमा विजयी भए प्रत्येक वडालाई फरक–फरक विकासको नमुनाका रुपमा अगाडि बढाइने प्रतिवद्धता जनाए । ‘प्रत्येक वडाको समस्या र विकासको आवश्यकता वर्गीकरण गरेर त्यहींअनुसार विकासका काम संचालन गर्ने छु ।’ जोशीले भने । उनले ५, १०, १५ वर्षे योजना बनाएर विकास गर्नु आवश्यक रहेको औंल्याउँदै देश विदेशमा रहेका यहाँका वुद्धिजिवीहरुको समेत सुझाव लिएर आफूले गुरुयोजना निर्माण गर्ने बताए । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामसमझ राना पनि अहिलेको अव्यवस्थित विकासको सट्टा व्यवस्थित र गुरुयोजनासहितको विकास आवश्यक रहेको उल्लेख गर्दै विकासमा धनगढीलाई उदाहरणीय शहर बनाउने आफ्नो योजना रहेको बताए । कृषकहरुलाई सहुलियतसंगै नगरका ग्रामीण क्षेत्रमा पनि खानेपानी, विद्युत, सडकजस्ता न्यूनतम पूर्वाधारहरुको विकासमा आफूले ध्यान दिने रानाले बताएका छन् । धनगढीमा डुवान, ढल निकास, अतिक्रमणजस्ता समस्याको समाधान पनि आफ्नो प्राथमिकतामा रहेको बताए । उनले उपमहानगरपालिकाले लिंदै आएको कर प्रणालीमा सुधार गरि करको वर्गीकरण गरिनु पर्ने बताए । मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले आफू मेयरमा विजयी भए धनगढी उपमहानगरपालिकालाई समुन्नत, आकर्षक, सुन्दर र नमुना सहरका रुपमा विकास गर्ने बताएका छन् । उनले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा भ्रष्टाचारमुक्त र शून्य सहनशीलताको नीति अबलम्बन गर्ने, धनगढीसंग जोडिएका ग्रामीण क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकता दिने, धनगढीलाई डुवानमुक्त बनाउने योजनाहरु उल्लेख गरेका छन् ।

यस्तै युवाहरुका लागि स्वरोजगारका कार्यक्रम संचालन गर्ने, आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण, यातायात, बिजुली, ढल, खानेपानीजस्ता पूर्वाधार पुगेपछि मात्र जग्गाको प्लटि· गर्ने व्यवस्था, धनगढीसंग जोडिएको भारतीय गौरीफण्टा नाकाको स्तरोन्नतिलाई हमालले आफ्ना प्राथमिकताका योजनामा राखेका छन् । उम्मेदवारी घोषणा गरेका अन्य दलहरुले पनि नमुना शहरलाई चुनावी एजेण्डा बनाएका छन् । धनगढीमा ठूला तीन दल र स्वतन्त्र उम्मेदवारबीच नै नेतृत्वका लागि मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्