सिरानचोकका तीन विद्यालय पुनःनिर्माण

गोरखा, जेठ ३० । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटस्थित तीनवटा विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण सकिएका विद्यालय भवनबाट आजदेखि पठनपाठन सुरु गरिएको हो । ‘गोरखा भूकम्प’ ले विद्यालय भवन भत्केपछि विगत २५ महिनादेखि टहरोमा सञ्चालित चन्द्रोदय माध्यमिक विद्यालय, जनजागृति प्राथमिक विद्यालय र अर्कुल प्राथमिक विद्यालयका विद्यार्थी भूकम्प प्रतिरोधी भवनमा बसेर पठनपाठन गर्न थालेका विद्यालय निरीक्षक डोलमान श्रेष्ठले जानकारी दिनुभयो ।

पुनःनिर्माण सकिएका भवनको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले सोमबार उद्घाटन गर्नुभएको हो । रु ६५ लाखको लगानीमा अर्कुल प्राविको छकोठे भूकम्पप्रतिरोधी भवन निर्माण सम्पन्न भएको थियो । यहाँ २२ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको नयाँ भवन निर्माण भए पनि विद्यालयसम्म पुग्ने बाटो सहज नहुँदा स–साना विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या छ । यस्तै रु ८६ लाखको लगानीमा जनजागृति प्राविको छकोठे भवन निर्माण सम्पन्न भएको हो । विद्यालयकी प्रधानाध्यापक इनकुमारी बरामका अनुसार नयाँ विद्यालय भवन बनेपछि टहरोमा बसेर पढाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यो विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ भने २२ जना विद्यार्थी पढ्दै आएका छन् ।

साथै चन्द्रोदय माविमा चारकोठे भवन पुनःनिर्माण भएको छ । रु ६६ लाखको लगानीमा विद्यालय भवन पुनःनिर्माण गरिएको हो । विद्यालयका प्रधानाध्यापक इमानसिंह गुरुङका अनुसार विद्यालयमा २१८ जना विद्यार्थी पढ्दै आएका छन् । यस विद्यालयमा मावि तहमा एउटै दरबन्दी छैन । गुरुङले जम्मा ११ जना शिक्षकबाट विद्यालय सञ्चालन गर्नुपरेको र निजी स्रोतका शिक्षकलाई तलब खुवाउन हम्मेहम्मे परेको जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा मासिक रु ४२ हजार घाटा हुने गरेको छ ।

भूकम्पपछि राहत वितरणको काममा सक्रिय असल छिमेकी नेपाल, पोखरालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले श्रीनाथकोटमा चारवटा विद्यालय भवन पुनःनिर्माणको जिम्मा दिएको थियो । तीमध्ये तीनवटा विद्यालय पुनःनिर्माण भइसकेको र जनकल्याण माविको १४ कोठे भवन निर्माणको काम तीव्र रुपमा अघि बढाइएको संस्थाका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीका अनुसार श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिसकिएको छ । यस्तै श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक, घैरुङ, आँपपीपलमा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिसकिएको अधिकारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्