एमाले र राजपाबीच चर्काचर्की, संयुक्त बैठक जारी

काठमाडौं, जेठ ३१ । दोश्रो चरणको निर्वाचन तथा संविधान संशोधनबारे सहमति खोज्न बसेको संयुक्त बैठकमा एमाले र राजपा नेताबीच चर्काचर्की परेको छ ।

मंगलबार शीर्ष ४ दलको बैठकले राजपालाई समेत बोलाएर निर्वाचनबारे सहमति खोज्ने निर्णय गरे अनुसार आज बैठक बसेको हो ।

सिंहदरबारमा जारी बैठकमा राजपालाई समेत निर्वाचनमा सहभागी गराउने विषयमा छलफल शुरु भएको थियो । सरकारले राजपा निर्वाचनमा आउने शर्तमा निर्वाचनको मिति सार्न सकिने सम्मको लचकता देखाउनुपर्ने संकेत दिएपछि एमालेले त्यसको कडा बिरोध गरेको हो ।

एमालेले न संविधान संशोधन हुन दिने, न मधेसका जनताका भावना बुझ्ने भन्दै राजपाका नेताहरु एमाले नेताहरुमाथि खनिएको बैठकमा सहभागी एक शीर्ष नेताले एभरेष्टदैनिक डटकमलाई बताए । “सरकारका तर्फबाट सहमतिका लागि अधिकतम लचकता अपनाउन तयार भएको प्रधानमन्त्रीले बताएपछि एमालेका नेताहरुले जे सुकै होस्, मिति चाहिँ सार्न पाइन्न भने । त्यसपछि राजपाका नेताहरुले आपत्ती व्यक्त गरे ।” उनले भने ।

एमालेका नेताहरुले राजपाले आन्दोलन फिर्ता लिएर चुनावमा आउनुपर्ने नभए सेना परिचालन गरेर भएपनि चुनाव गर्नुपर्ने बताइरहेका छन् ।

बैठकमा स्थानीय तहको दोस्रो चरणको चुनावमा राजपाको सहभागिताका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि शुक्रबार उम्मेदवारी मनोनयन तोकेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु रहेका छन् भने स‌ंघीय गठबन्धन र राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु सहभागी छन् ।

कमेन्ट गर्नुहोस्