असार १४ को मिति नसार्न प्रचण्डको प्रस्ताव, भोली फेरी संयुक्त बैठक

काठमाडौं, जेठ ३१ । राजपा र एमालेसहित सत्तारुढ दलहरुको बैठक भोली पुनः बस्ने गरी टुंगिएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले घोषित असार १४ को निर्वाचन नसार्न प्रस्ताव गरेका थिए । प्रचण्डले निर्वाचन आयोगसँग उम्मेदवार मनोनयनलगायतका प्रक्रियाका बारेमा छलफल गरेर भएपनि तयार गर्ने तर चुनाव नसार्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।
“मिति चाहिँ नसारौं भन्नु भो वहाँले” प्रचण्डको भनाई उद्दृत गर्दै उनले भने, “बरु मनोनयनलगायतका विषयमा दुई गतेको मिति सार्न निर्वाचन आयोगसँग परामर्श गरौं । राजपाका मागहरुबारे पनि छलफल गरौं । तर निर्वाचन चाहिँ तोकिएकै मितिमा गरौं ।”

बैठकमा प्रचण्डले संविधान संशोधन असार १४ गते अघि सम्भव नभएपनि एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाएको खण्डमा राजपाले चुनावमा भाग लिन आनाकानी गर्न नहुने समेत बताएका थिए । राजपाका नेताहरुले पनि प्रचण्डको कुरामा सहमति व्यक्त गर्दै निर्वाचनका लागि तयारी गर्न आयोगले सहयोग गर्ने र प्रतिपक्षलगायतले संविधान संशोधन गर्न ग्यारेण्टी गर्ने अवस्थामा चुनावमा भाग लिन सकिने संकेत बैठकमा गरेका छन् ।
यद्यपी एमालेले भने आजको बैठकमा समेत आफ्नो पुरानै अडान दोहोर्याएको छ ।

दलहरुबीच भोली बिहान ९ बजे निर्वाचन आयोगसँग परामर्श गर्ने र बिहान दश बजे फेरी सहमतिका लागि बैठक बस्नुपर्ने सहमति बनेको छ ।

कमेन्ट गर्नुहोस्