कैलालीमा पनि लोकतान्त्रिक फोरम, यस्ता छन् उम्मेदवार

लोकेश धामी,
धनगढी, असार २ ।

नेपाल लोकतान्त्रिक फोरमले कैलालीको ११ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारको कार्य व्यस्तताका कारण ढिलो गरी उम्मेदवारको टुङ्गो लगाएको सो पार्टीले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरी जनाएको छ । लोकतान्त्रिक फोरमले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपप्रमुखको टिकट दुर्गा कुश्मीले पाउनु भएको छ ।

यसैगरी, गोदावरी नगरपालिकाको प्रमुखमा शारदा केसी र उपप्रमुखमा मणिराम चौधरीलाई उम्मेदवार बनाइएको छ । टीकापुर नगरपालिकाको मेयरमा लौटन चौधरी र उपमेयरमा सुदेशनी चौधरीलाई टिकट दिएको पत्रकार सम्मेलनमा जनाइएको छ । लम्की–चुहा नगरपालिकाको मेयरमा अरुणकुमार चौधरी र उपमेयरमा धनदेवी चौधरीले टिकट पाउनु भएको छ ।

यसैगरी, भजनी–त्रिशक्ति नगरपालिकाको प्रमुखमा केवल चौधरी, उपप्रमुखमा धनवासी चौधरीलाई उम्मेदवार बनाइएको छ । घोडाघोडी नगरपालिकाको मेयरमा चन्द्रकुमार चौधरी र उपमेयरमा चैतीदेवी विश्वकर्माले टिकट पाउनु भएको छ । यस्तै, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा खुशीराम चौधरी र उपप्रमुखमा शारदा चौधरीले टिकट पाउनु भएको छ ।

याे पनि पढ्नुस  वाम गठबन्धनले प्रधानमन्त्री चयन गर्न नसक्दा समस्या : प्रधानमन्त्री देउवा

कैलारी गाउँपालिकाको अध्यक्षमा कलेशु चौधरी, उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा बिरु चौधरी, उपाध्यक्षमा किरण चौधरीले टिकट पाउनु भएको छ । बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बिरबहादुर डङ्गौरा, उपाध्यक्षमा कृष्णकुमारी चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा प्रदीपकुमार चौधरी तथा उपाध्यक्षमा उमा महतोलाई टिकट दिइएको छ ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी एकीकृत भएर नेपाल फोरम लोकतान्त्रिक पार्टी गठन भएको हो । जिल्लामा गाउँपालिका अध्यक्ष सहित सदस्यहरुको टुङ्गो जिल्ला समितिले र नगरपालिकाका उम्मेदवारको टुङ्गो जिल्लाले सिफारिस गरेको आधारमा केन्द्रले लगाएको थियो ।

कैलालीमा १३ वटा स्थानीय तह रहे पनि चुरे र मोहन्याल गाउँपालिकामा सङ्गठन क्रियाशिल नरहेकाले दुई गाउँपालिकामा उम्मेदवार छनोट नगरेको सो पार्टीका सह अध्यक्ष भानुराम थारुले बताउनुभयो । उहाँले मुद्दा र विचार मिल्ने पार्टीहरुसंग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुन सक्ने उल्लेख गर्नुभयो ।

‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ’, थारुले भन्नुभयो–‘तर, निर्णय भएको छैन । मुद्दा मिल्ने पार्टीसंग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय रहेकाले तालमेल गर्न सकिन्छ ।’

याे पनि पढ्नुस  कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो

यसअघि, संविधान जारी हुनु अगाडि दुवै पार्टी आन्दोलनमा थिए । संविधान जारीपछि मधेसी जन अधिकार फोरम लोकतान्त्रिक सरकारमा गएको थियो । भने, संविधान संशोधन गर्नु पर्ने माग सहित थरुहट तराई पार्टीले आन्दोलन जारी राखेको थियो । एकतापछि यो पार्टी प्रचण्ड नेतृत्वको सरकारबाटै निरन्तर मन्त्रीमण्डलमा समावेश भएको छ ।

आन्दोलनरत तत्कालिन थरुहट तराई पार्टी सरकारमा पुगेका कारण स्थानीय तहको निर्वाचनमा थारु समुदायको सहभागिता बढेको छ । राजपा आबद्ध थारु बाहेक अब सबै चुनावमा होमिएका छन् । एकतापछि यो पार्टी कैलालीको केहि गाउँपालिकामा बलियो समेत बनेको छ ।

२०७० को संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ र ३ मा बाजी मारेर तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले यहाँको सवालमा मुलुककै ठूलो पार्टी काङ्ग्रेससंग हैसियत बराबरी गरेको थियो । काङ्ग्रेसले पनि कैलालीको दुई वटा क्षेत्रमा संविधान सभाको चुनाव जितेको थियो । पार्टी एकतापछि यो पार्टीले स्थानीय तहको चुनावमा केहि गाउँपालिकामा प्रभाव पार्न सक्ने बताइएको छ ।

याे पनि पढ्नुस  फुटवल खेलाडीको परिवारलाई सहयोग

यसैबीच, धनगढी उपमहानगरपालिकामा प्रमुखको उम्मेदवार प्रेम बिसीले नगरको समग्र विकास, स्वच्छ, समृद्ध नगर बनाउने प्रतिबद्धता चुनाव जित्ने आधार रहेको बताउनु भएको छ । उहाँले बजार बाहेक उप–महानगर क्षेत्रको ग्रामीण क्षेत्रमा विकास हुन नसकेको उल्लेख गर्दै विकासको सुरुवात अब गाउँबाट गर्ने एजेण्डा सहित चुनावी अभियानमा लाग्ने बताउनुभयो ।

आफू जितेमा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसंग जोड्ने, खोलानालाको अतिक्रमण हटाउने, सरकारी जग्गामा भएको अतिक्रमण हटाएर ग्रीन पार्क बनाउने, धनगढीमा सीटी बस सञ्चालन गर्ने, किसानको सुविधाका लागि शित भण्डारको स्थापना गर्ने लगायतको एजेण्डा रहेको बिसीले बताउनुभयो ।

उहाँले धनगढी आदिवासी जनजाति राना थारुको आदिम थलो रहेको कारण यहाँ नमूना राना थारु क्षेत्र बनाउने समेत प्रतिबद्धता जनाउनु भएको छ । यो क्षेत्रको राजनीति र समुदायमा आफू चिरपरिचित रहेका कारण जनताले भोट दिएर जिताउने बिसीले विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्