एक दशकपछि भारत र पाकिस्तानबीच फाईनल भीडन्त हुँदै, दुबै देशमा उच्च तनाव

काठमाडौँ ।  भारत र पाकिस्तानबीच  एक दशकपछि आज दिउँसो हुने क्रिकेटकाे फाईनल भीडन्त रोमाञ्चक मात्रै हुनेछैन् । महाप्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ ।

बेलायतको ओभलमा च्याम्पियन्स ट्रफी क्रिकेटको साविक विजेता भारत तेस्रो पटक उपाधि जित्ने अभियानमा रहनेछ भने पाकिस्तान पहिलो उपाधिको खोजीमा हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको भारत बंगलादेशलाई हराएर फाइनलमा आएको हो । पाकिस्तानले सेमिफाइनलमा इंग्ल्याण्डलाई पाखा लगाएको थियाे । भारत र पाकिस्तानबिचको खेललाई एक दिवसीय क्रिकेटको रोमाञ्चक र महाप्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एक दिवसीय ठूलो प्रतियोगिताको फाइनलमा यी दुई देशबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । भारत चौथो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो भने पाकिस्तान पहिलो पटक फाइनल खेल्दैछ ।

यसअघि दुई पटक च्याम्पियन बनेको भारतले यो पटकको प्रतियोगितामा लिग चरणमा पाकिस्तानलाई हराएको पनि छ । तर पाकिस्तानले भारत विरुद्ध जित निकाल्न सकेको आइसिसीको एक मात्र प्रतियोगिता च्याम्पियन्स ट्रफी भएकाले पाकिस्तान मनोवैज्ञानिक रुपमा लाभको अवस्थामा रहेको विश्लेषण पनि गरिएको छ ।

विश्वकप, च्याम्पियन्स ट्रफी तर ट्वेन्टी–ट्वेन्टी विश्वकप गरी आइसिसीले आयोजना गरेका प्रतियोगितामा भारत र पाकिस्तानबिच अहिलेसम्म १५ पटक खेल भएको छ । त्यसमा भारत १३ पटक विजयी भएको छ । दुई पटक मात्रै पाकिस्तानले भारतलाई हराउन सकेको छ । एक दिवसीय क्रिकेटमा भने विगत पाकिस्तानको पक्षमा छ ।

दुई देशबिच अहिलेसम्म भएका एक सय २८ खेलमा पाकिस्तान ७२ खेलमा विजयी भएको छ भने भारतले ५२ खेल जितेको छ । चार खेल भने नतिजा बिहिन अवस्थामा सकिएका छन् । अहिले बलियो देखिएको भारतीय टिम सुरुवाति चरणमा एक दिवसीय क्रकेटमा पाकिस्तानले भन्दा धेरै खेल हार्ने गरेको थियो । तर पछिल्लो क्रममा भारतले जितको क्रम बढाएको छ ।

कमेन्ट गर्नुहोस्